बैशाख १६, २०८१, आइतबार
               

राहत वितरणमा पक्षपात भएको भन्दै कार्यालयमा तालाबन्दी

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । गरीबले खाने राहत धनीलाई दिइएको भन्दै केआइसिंह गाउँपालिका ६ न‌‍म्बर  वडा कार्यालयमा तालाबन्दी गरिएको छ । 

डोटी जिल्लाको सो वडामा राहत वितरणमा अनियमितता र  पक्षपात भएको आरोप लगाउँदै  स्थानीयले तालाबन्दी गरेका हुन् । 

कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनबाट समस्यामा परेकालाई वडाले राहत वितरण गर्ने भनिए पनि पक्षपातपूर्ण व्यवहार भएकाले सो वडामा तालाबन्दी गरिएको स्थानीयवासी योगेन्द्र भट्टले जानकारी दिए  । 

‘गरिब, विपन्न वर्ग छन् उनीहरुलाई नदिएर अरु हुने खाने वर्गलाई राहत दिएका कारण तालाबन्दी गरिएको हो,’ उनले भने, ‘गरीबले पाउने राहतमा धनीले किन खाने ?’

राहत वितरणमा अनियमिततासहित खासै राहत पाउनु पर्ने गरिब र विपन्न वर्गले राहत नपाएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेको खबर आफूले पाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । 

राहत पाउनै पर्ने व्यक्ति छुटेको भएमा तत्काल नाम समावेश गरेर राहत दिने विषयमा गाउँपालिका स्पष्ट रहेको अध्यक्ष शाहीको भनाइ छ । विपन्न परिवारलाई समेटेर राहत नदिएसम्म तालाबन्दी नखोल्ने तालाबन्दी गर्नेको माग रहेको बताइएको छ । 

सो विषयमा  थप बुझ्न वडाध्यक्ष दीपबहादुर बलायरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

यो पनि