काठमाडौं । विप्लव समूह नेतृत्वको अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई फेरि प्रहरीले पक्राउ गरेको छ ।
उनी यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएकी थिइन् । चन्दलाई आइतबार दाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सार्वजनिक मुद्दामा २५ दिन प्रहरी हिरासतमा बसेकी चन्दलाई आइतबार जिल्ला प्रशासन कार्यालय दाङले थुनामुक्त गर्न आदेश दिएको थियो ।
उक्त आदेश अनुसार नै दुई हजार धरौटीमा छुटेकी उनलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेटबाटै पुनः पक्राउ गरेको छ । गत वर्ष २०७५ चैत ११ मा अछाम जिल्लाबाट पक्राउ परेकी उनलाई कैलाली, बर्दिया,बाँके हुँदै २०७६ चैतमा दाङ लगिएको थियो ।