बैशाख २०, २०८१, बिहीबार
               

''लकडाउन तत्काल हट्दैन'' -प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेकाे लकडाउनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । 

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।  । साथै भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरूमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गरिने, लकडाउनलाई निरन्तरता दिने र संक्रमणको खतरालाई कुनै पनि भावुक कुराहरू गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरूलाई स्पष्ट हुन आग्रह गरेकाे प्रेस सल्लाहकार थापाले बताए । भिडियो कन्फ्रेन्समा कुनै पनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।

नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएकोहुनाले जीवन रक्षामा केन्द्रित हुने र नागरिकलाई दु:ख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पस्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएकाे उनले बताए । सरकारले योजनाबद्ध रुपले काम गरेको स्पष्ट पार्दै कुनैपनि समय वा १५/१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजी नगर्न पनि मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले आग्रह गरेकाे प्रेस सल्लाहकार थापाले बताए ।

जनतामा मनोवैज्ञानिक त्रास नहोस भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । भिडियो कन्फ्रेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरूले संक्रमणको अवस्था खतरापूर्ण हुँदा सम्म लकडाउन प्रति नरम हुन नहुने कुरा राखेका प्रेस सल्लाहकार थापाले बताए ।

मुख्यमन्त्रीहरूले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिएका उनले बताए । यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरू थपिएको र अझ अत्यावस्यक पूर्वाधारहरू प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझ बढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरूले जोड दिएका थिए ।

यो पनि