बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्रीको दुखेसो – ‘सरकारलाई असफल देखाउने प्रयास गरियो’

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाउने प्रयास भएको दुखेसो गरेका छन् । मङ्गलवार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् । सरकारलाई असफल देखाएर सामाजिक सञ्जाल र मिडियाबाट टिप्पणी गरिए सरकार यस्ता टिप्पणीबाट कमजोर नबन्ने समेत उनले बताए ।

भ्रष्टाचार गरेको थाहा हुँदा सरकारले कठोर कदम चाल्ने प्रधानमन्त्री ओलीले बताए । उनले अहिले भएका टिप्पणीमा आफूले पर्याप्त ध्यान दिएको दाबी पनि गरे । ‘समाजमा उठ्ने गरेका, खास गरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानव जाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन’, उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले थप भनेका छन्, ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्नेछैन । कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्नेछैन ।’

स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयको बचाउ  

यस्तै उनले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयको बचाउ गरेका छन् । अहिले सबैभन्दा चुनौती स्वास्थ्य उपकरणहरूको आपूर्ति भएको उनले बताएका छन् । ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा सेनालाई दिएको छ ।

तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रै र बाहिरबाट पनि सरकारको निर्णयको आलोचना भएको छ । स्वास्थ्य सामग्री आपूर्ति सबैभन्दा ठुलो चुनौती भएको भन्दै उनले भने, ‘सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो ।’
 

यो पनि