बैशाख २०, २०८१, बिहीबार
               

कोरोना नियन्त्रण चुनौतीपूर्ण,  धान्ला त ३ हजार क्षमताको आइसोलेशन बेडले ?

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि सरकारले मुलुकभर ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने क्वारेन्टाइन बनाएको छ । हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार राष्ट्रको नाममा सम्बोधन गर्दै दिएको जानकारी अनुसार ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन बेड तयार गरिएको छ । हाल त्यहाँ ९५ जना उपचाररत छन् । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्णतयारीमा जुटेको बताए पनि यो पूर्वाधार भने निक्कै कम हो । 

यस्तै सरकारले ७ सय जना भारतीय नागरिकहरूलाई समेत क्वारेन्टाइनमा राखेको छ । लकडाउनयता सीमा पारी (भारत) जान नपाएका उनीहरूलाई नेपाल आफैले क्वारेन्टाइनमा राखेको हो । यस्तै लकडाउनयता स्वदेश आउन नपाएका २ हजार जना बढी नेपालीहरू पनि भारतीय क्वरोन्टाईनमा रहेका प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्  ।  ‘भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहेका २ हजार १ सय ४७ नेपालीहरूलाई उतै क्वारेन्टाइनमा राखिएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई देशभित्र भित्र्याइने छ ,’ उनले सम्बोधनमा भनेका छन् । लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित सङ्क्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले उचित उपाय अपनाएको उनले बताए ।

सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान समेत व्यवस्था गरिएको छ । एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरूको व्यवस्था गरिएको छ । भेन्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै रहेको  सम्बोधनमार्फत प्रधानमन्त्रीले जनाएका छन् ।

र्‍यापिड टेस्ट तीब्र बनाइँदै
हालसम्म सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण सुरु गरिएको छ । सोमबारसम्म १ हजार ८ सय ९०  जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरूमा द्रुत परीक्षण (र्‍यापिड डिटेक्सन टेस्ट (आरडिटी) विधिमार्फत हजारौँको नमुना परीक्षणको तयारी अगाडि बढाइएको छ । 

दुई साता थप चूनौतिपूर्ण,  लकडाउन अझै थपिएला ? 
आउने २ साता सायद थप चुनौतीपूर्ण हुने प्रधानमन्त्रीले बताएका छन् । नेपालमा कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले समुदायमा समेत फैलिने उच्च जोखिम रहेको अनुमान  छ। ‘आउने २ साता सायद हाम्रा लागि थप चुनौतीपूर्ण हुने छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको सङ्क्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ’ प्रधानमन्त्रीले भनेका छन् । प्रधानमन्त्रीले दुई साता थप चुनौतीपूर्ण भन्दै विश्लेषण गरेकाले फेरि अर्को एक साता लकडाउन थपिन सक्ने धेरैले आशङ्का गरेका छन् ।

यो पनि