बैशाख २६, २०८१, बुधबार
               

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना संक्रमणविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रतिष्ठानले धनकुटास्थित अस्पतालहरू, आइसोलेसन एन्ड क्वारेन्टाइन सेन्टर, प्राथमिक स्वास्थ्य केन्द्रहरू तथा उपस्वास्थ्य चौकीहरूका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

ती सामग्री एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत मङ्गलवार धनकुटा पठाइएको छ । त्यहाँ पठाइएको सामग्रीमा स्वास्थ्यकर्मीका लागि ७४ सेट पीपीइ किट, एम्बुलेन्स चालक तथा सहयोगी किट २२ थानलगायत छन् ।

त्यसैगरी पञ्जा २२ बाकस, सेनिटाइजर ३० बोतल, हेन्डवास ७२ बोतल, साबुन ७२ थान, मास्क दुई हजार थान पठाइएको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए । धनकुटामा करिब एक लाख जनालाई स्थानीय स्वास्थ्य संस्थाहरूले सेवा दिइरहेका छन् ।

प्रतिष्ठानले आफ्नो सहयोग सामग्री पुर्‍याउने क्रममा हेलिकोप्टरबाट नेपाली सेनाको सल्लेरी ब्यारेकको दुई बोरा (१२५ केजी) पीपीइ किट पनि धनकुटा पुर्‍याइदिएको थियो । विपद्को बेला देश तथा राष्ट्रिय सेनालाई सहयोग गर्न पाएकोमा प्रतिष्ठानको तर्फबाट पूर्वमन्त्री थापाले खुसी व्यक्त गरेका छन् ।

प्रतिष्ठानले धनकुटा पठाएका सामग्रीहरू धनकुटा जिल्ला विपत् व्यवस्थापन समिति तथा धनकुटा उद्योग वाणिज्य महासङ्घमार्फत सबै स्वास्थ्य संस्थाहरूमा पुर्‍याउने प्रबन्ध मिलाएको जानकारी पूर्वमन्त्री थापाले दिए ।

थापाले आफ्नो सहयोग प्रयासमा मद्दत पुर्‍याएको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटा, नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य महासङ्घ–धनकुटालगायतमा आभार व्यक्त गर्दै भने- 'सन्तोषम् परमम् सुखम् ।'

 

यो पनि