काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको छ ।
आज अपराह्न प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरूको व्यवस्थापनका विषयमा गहन संवाद भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
छलफलमा उनीहरूबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिकाटिप्पणीका बारेमा पनि कुराकानी भएको थियो । यस्तै नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।