जेठ ०४, २०८१, शुक्रबार
               

विदेशका श्रमिक र विद्यार्थीको उद्धारको योजना तत्काल नरहेको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल विदेशमा रहेका विद्यार्थी र  श्रमिकलाई नेपाल ल्याउने योजना नभएको बताएका छन् । 

तत्काल यात्रा गर्नु सुरक्षाका दृष्टिले उचित नभएको बताउँदै मन्त्री ज्ञवालीले जो जहाँ–जहाँ छ, त्यहीँ–त्यहीँ बस्न आग्रह गरेका छन् । 

‘हामीले देख्यौँ, नेपालमा संक्रमितहरूमध्ये अधिकांश नागरिकहरू विदेशबाट स्वदेश यात्राका क्रममा रहेकाहरू हुनुहुन्छ,’ उनले भने ‘नेपाल आफैँ पनि संक्रमणसँग जुधिरहेको छ । यतिबेलाको सर्वाेत्तम उपाय भनेको जो जहाँ छ, त्यहीँ रहनुपर्छ ।’

शैक्षिक परामर्श केन्द्र तथा सञ्चालकहरुले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई उचित सुविधा दिन र घर फर्कनु परेमा उचित प्रबन्ध गर्नुपर्ने माग गरिराखेको अवस्थामा मन्त्री ज्ञवालीले सरकारले विदेशमा रहेका विद्यार्थी र श्रमिकलाई घर फर्काउने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । 

बरु उल्टै मन्त्री ज्ञवालीले नेपाली दूतावास, गैरआवासीय नेपाली संघका साथै च्यारिटी संस्थासँग मिलेर त्यहीं सुरक्षित रहन सुझाब दिए । 

‘हामी नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षाका लागि जसरी प्रतिबद्ध गरेका छौँ,’ उनले भने, ‘त्यहाँ रहेका नेपालीहरूलाई पनि त्यहाँका सरकारले सुरक्षा दिनुस् भनेर भनेका छौँ । त्यो प्रतिबद्धता उहाँहरुबाट आएको छ’ उनले भने, ‘यस्तोबेला यात्रा गर्नु उचित हुँदैन ।’

परराष्ट्रमन्त्री ज्ञवालीले भने अहिले अत्तालिएर दौडादौड वा उद्दार गर्ने स्थिति नभएको बताएका छन् । 

उनले सरकारले गरेका आग्रह र लागू गरेका मापदण्डको उचित पालना नभएको  र यात्राको समग्र स्थितिबारे समयमै जानकारी नलिँदा र स्वदेश फर्केर क्वारेन्टाइनमा नबस्ता संक्रमण फैलने समस्या देखिएको समेत बताए ।

कोरोना संकटले विकसित मुलुकलाई जरैदेखि हल्लाएको भन्दै  असामान्य स्थिति मा अधिकारभन्दा पनि आमनागरिकको स्वास्थ्यरक्षाको दृष्टिकोणले हेर्न उनले आग्रह गरे । 

‘मानव समाजको वृहत्तर हितलाई हेर्नुपर्छ । कुनै पनि देशले आफ्ना नागरिकलाई घर फर्कन पाउँदैन भन्दैन,’ उनले भने ‘हामीले पनि भनेका छैनौँ । तर, कस्तो बेलामा कसरी गर्ने भन्ने चाहिँ संकटको स्थितिले तय गर्छ ।’


कस्तो लाग्यो ?

यो पनि