जेठ ०८, २०८१, मंगलबार
               

काँग्रेसमा भावी नेतृत्वको होडबाजी, देउवाको विकल्पमा रस्साकस्सी
विरासत फर्काउने लबिङमा शंशाक, शेखर र सुजाता

ADVERTISEMENT

काठमाडौँ । पार्टीको १४ औँ महाधिवेशन २०७७ फागुन ७–१० मा काठमाडौँमा गर्ने निर्णयसँगै काँग्रेस आन्तरिक राजनीतिक जोडघटाउमा व्यस्त छ ।

सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्‍याउने तीब्र तयारीमा लागिसकेका छन् । संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवारका रूपमा देखिएका छन् । तर, देउवा इतर पक्षमा भने उम्मेदवारका आकांक्षीहरु धेरै छन् । उनीहरूबीच कुरा मिल्न सकेको छैन । तत्काल एकल र साझा उम्मेदवार बन्ने छाँट पनि देखिँदैन । इतर पक्षीय समूहबाट नेताहरू रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह सभापतिको आकाङ्क्षीका रूपमा देखिएका छन् । तेस्रो धारको नेतृत्व  गरिरहेका कृष्णप्रसाद सिटौला यसपटक पनि सभापतिको उम्मेदवार बन्ने कसरतमा छन् ।

अबको महाधिवेशनमा भने कोइराला परिवारका सदस्यहरू आफैँ नेतृत्वको होडमा छन् । उता शेखर काइराला पनि आकांक्षी छन् । उनीहरू जिल्ला नेताहरूलाई आफ्नो पक्षमा पार्ने लबिङ गर्दै देश दौडाहामा छन् । महामन्त्री शशांक भने भारत पनि पटकपटक धाइरहेका छन् ।

गएको १३औँ महाधिवेशनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि देउवा इतर समूहमा रामचन्द्र पौडेलले कोइराला परिवारको समर्थन पाएका थिए । सुशीलको निधनपछि काँग्रेसमा शीर्ष तहमा कोइराला परिवारका तीन सदस्य सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइराला छन् । सुरुमा सुजाता कोइरालाले सभापतिमा उम्मेदवार दिएर धम्काउने प्रयास गरे पनि अन्तत उनले पौडेललाई समर्थन गरेकी थिइन् । कोइराला परिवारका दुई सदस्य शशांक र शेखरले पौडेललाई सभापतिको सहज मार्ग प्रशस्त गरेका थिए । 

सुशीलको निधनपछि कोइराला परिवारले तत्कालीन उपसभापति पौडेलको दाबीलाई स्वाभाविक मान्दै सहज स्विकारेका थिए । तर अबको महाधिवेशनमा भने कोइराला परिवारका सदस्यहरू आफैँ नेतृत्वको होडमा छन् । उता शेखर काइराला पनि आकांक्षी छन् । उनीहरू जिल्ला नेताहरूलाई आफ्नो पक्षमा पार्ने लबिङ गर्दै देश दौडाहामा छन् । महामन्त्री शशांक भने भारत पनि पटकपटक धाइरहेका छन् ।

पौडेलको चाहना यसपटक पनि सभापति उम्मेदवार

यता सभापतिको उम्मेदवारका अर्को आकाङ्क्षी पौडेल पनि सिंह र कृष्ण सिटौला समूहसँग छलफलमा छन् । पौडेलले दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, नविन्द्रराज जोशीलगायत मार्फत पौडेलले आफ्नो पक्षमा माहौल बनाउन लबिङ गर्दै आएको नेताहरू बताउँछन् । पौडेलको पक्षमा समर्थन जुटाउन जिल्ला सभापतिहरूसँग लबिङ गर्ने जिम्मा काभ्रेका सभापति मधु आचार्य र नुवाकोट जिल्ला सभापति जशदिशनरसिंह केसीले लिएका छन् । कोषाध्यक्ष सीतादेवी यादव, अर्जुननरसिंह केसी, बलबहादुर केसी, धनराज गुरुङलगायतका नेताहरू भने पौडेललाई नै पुन एकपटक अवसर दिनुपर्ने बुझाइमा छन् । शशांक र शेखर दुबै जनाबाट तत्कालै पार्टीको नेतृत्व कोइराला परिवारबाट सम्भव नभएको निष्कर्षमा छन् । यसैले फेरि एकपटक पौडेललाई मौका दिनुपर्ने उनीहरूको तयारी छ ।

‘काँग्रेसको पर्याय कोइराला परिवार नभए पनि काँग्रेसको सङ्गठन सुदृढीकरण र विस्तारमा कोइराला परिवारको महत्त्वपूर्ण योगदान छ,’ शेखर कोइरालाले भने, ‘सम्भवतः म, सुजाता र शशांकमध्ये एकजना सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत हुनेछौँ ।’

प्रकाशमानको रणनीति

१३औँ महाधिवेशनमा सभापतिमा हार बेहोरेका पौडेलसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि सभापतिमा दाबी छ । उता पौडेलले भने प्रकाशमान सिंहलाई आफ्नो समूहको महामन्त्री बनाउने प्रस्ताव गरेका छन् । गणेशमान सिंहका छोरा प्रकाशमानले भने पौडेललाई समर्थन गर्ने ग्रिन सिग्नल दिइसकेका छैनन् । उनी आफैँ आफ्नै गुट बलियो बनाउने ध्याउन्नमा छन् । पछिल्लो समय उनले आफ्नो निवास चाक्सीबारीमा निकटवर्ती नेताहरूसँग पटक–पटक छलफल गर्दै आएका छन् । सिंह १३औँ महाधिवेशनमा हार बेहोरेका पौडेलभन्दा आफू लोकप्रिय भएको ठान्छन् । पौडेल निकटवर्तीहरू केही नेताहरू भने सिंहलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने मान्यतामा छन् । सोही अनुसार सिंहसँग पौडेल पक्षका नेताहरूले छलफल तीव्र बनाएका छन् । 

पौडेल पक्षका केही नेता भने देउवाकै विकल्प नखाेजी पार्टी बलियो नहुने तर्क गर्छन् । विकल्पको खोजी जारी रहेको तर उम्मेदवार तय भइनसकेको पौडेल निकट नेता तथा नुवाकोट जिल्ला सभापति जगदिशनरसिह केसी बताउँछन् । देशभरका जिल्ला सभापतिहरूको नेतृत्व गर्दै आएका उनी भन्छन्– ‘महाअधिवेशन आउन अझै वर्ष दिन बाँकी छ । को उम्मेदवार भन्ने गौण कुरा हो नेतृत्वमा अहिलेकै दोहोरिनु हुँदैन भन्ने मात्र हाम्रो बुझाइ छ । समय आएपछि उम्मेदवार छानौँला ।’

नेता  व्यवस्थापनको  नयाँ जुक्ति 

काँग्रेसमा अहिलेको विधानमा एक जना मनोनीत उपसभापति मात्रै रहने प्रावधान छ  । जँहा विमलेन्द्र निधिलाई सभापति देउवाले मनोनीत गरेका छन् । पछि विजयकुमार गच्छदार पार्टी एकतामा आएपछि उनलाई पनि उपसभापति बनाइएको छ । तर अब विधान संशोधन गरेर तीनजना उपसभापति राख्ने र एक जना वरिष्ठ उपसभापतिको चुनाव गर्ने कोइराला पक्षको प्रस्ताव छ । सोहीअनुसार विधान संशोधन गर्न सके प्रकाशमान सिंहलाई वरिष्ठ उपसभापतिमा चुनाव लडाउने योजना त्यो समूहको छ । सभापतिमा शशांकले उम्मेदवारी दिँदा एक महामन्त्री र कोषाध्यक्ष पदमा शेखर, सुजाता वा अरू पौडेल निकटका नेताहरूको व्यवस्थापन गर्न सजिलो हुने कोइरालाहरूको सोचाइ छ । पछि मनोनीत गरिने दुई उपसभापतिमा समेत सबैलाई भाग पुग्ने भन्दै उनीहरू यस्तो लबिङमा लागेका नेताहरू बताउँछन् । 

कोइरालाहरूको ठहर ‘देउवालाई टक्कर दिने हैसियत आफूहरूसँग मात्रै’

सुशील कोइरालाको निधनपछि शशांक, शेखर कोइरालाले रामचन्द्र पौडेललाई सभापतिमा अघि सारे । तर, उनले देउवालाई चुनौती दिन सकेनन् । फेरि पनि पौडेलले देउवालाई चुनौती दिन नसक्ने निष्कर्ष कोइराला परिवारले निकालिसकेको छ । यसकारण पनि आउँदो महाधिवेशनमा कोइरालाहरू गुमेको राजनीतिक विरासत फर्काउने भन्दै आफैँ सभापतिको उम्मेदवार बन्ने लाइनमा छन्  । जसरी पनि विरासत फर्काउने अभियानमा विपीपुत्र एवं महामन्त्री शशाङ्क, शेखर देशव्यापी अभियानमा छन् । देउवा इतर नेताहरूलाई एकजुट गरेर महागठबन्धन बनाउने उनीहरूको अभियान छ । आफूहरूमध्येबाटै एकजना सभापतिमा उठ्ने उनीहरूको तयारी छ ।

१४औँ महाधिवेशनमा कोइराला परिवारका सदस्यबाटै सभापति उम्मेदवार बन्ने काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला दावी गर्छन् । काँग्रेस नेता कार्यकर्ताले पार्टी कमजोर भएकाले कोइराला परिवारभित्र नेतृत्वको खोजी गरिरहेको उनको दाबी छ । महामन्त्री शशाङ्क, केन्द्रीय सदस्य सुजाता र आफूमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने उनले बताए । ‘काँग्रेसको पर्याय कोइराला परिवार नभए पनि काँग्रेसको सङ्गठन सुदृढीकरण र विस्तारमा कोइराला परिवारको महत्त्वपूर्ण योगदान छ,’ उनले भने, ‘सम्भवतः म, सुजाता र शशांकमध्ये एकजना सभापतिको उम्मेदवारको रूपमा प्रस्तुत हुनेछौँ ।’ अहिलेको नेतृत्व फेरि दोहोरिएमा काँग्रेस पुरानो अवस्थामा फर्कन सक्ने स्थिति नरहने उनको दाबी थियो ।

काँग्रेस नेतृ सुजाताले पनि आफूले सभापति पदमा उम्मेदवारी दिने दाबी गर्दैआएकी छन् । सभापतिका लागि आफू योग्य उम्मेदवार रहेको उनको दाबी  छ । उनी भन्छिन्- ‘गत महाधिवेशनमा मैले उम्मेदवारी फिर्ता लिए, सहमतिको लागl रामचन्द्र पौडेललाई त्यो बेलामा सहयोग गर्‍यौँ । अब मेरो पालो हो ।उहाँले सहयोग गर्नुपर्छ ।’

पार्टीभित्रका नेता कार्यकर्ताको सुझाव र चाहनाअनुसार आफू उम्मेदवार बन्ने भन्दै उनले थपिन्- ‘सभापतिको लागि चाहिने सम्पूर्ण क्षमता मसँग छ । पार्टीमा हाम्रो पुस्तौनी लगानी पनि छ ।’

कता जालान् सिटौला  ?

कहिले देउवा त कहिले पौडेल समूहसँग निकटता देखाउने कृष्ण सिटौला यसपटक पनि  सभापतिको उम्मेदवार बन्ने कसरतमा छन् ।

आफूलाई गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी मान्ने उनी देउवाविरुद्धको संस्थापन इतर समूहको बैठक-भेलामा खासै आउँदैनन् । तर सभापतिको एकपक्षीय निर्णयको विरोधमा भने उनले पनि पौडेल, कोइराला पक्षसँगै बैठक बहिष्कार गरेका थिए ।

पछिल्लो समयमा उनले देउवासँगको छलफललाई तीव्रता दिँदै आएका छन् । उनै सिटौलाले साथ छोड्दा गत महाधिवेशनमा पौडेल हारेका थिए । यसपटक फेरि पनि सिटौला पनि निर्णायक हुने देखिन्छन् । अहिलेसम्म गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका प्रभावशाली युवा नेताहरूको साथ रहेको सिटौलालाई आफ्नो पक्षमा तान्न देउवा निरन्तर छलफलमा छन् । 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि