मंसिर ०७, २०८१, शुक्रबार
               

मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छोड्ने राप्रपा नेताहरूको दाबी

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । पटकपटक फुटेको राप्रपाका नेताहरूले अबदेखि कहिल्यै नफुटने बाचा गरेका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा नेताहरूले त्यस्तो बाचा गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित घोषणाासभामा नेताहरूले विगतमा भुल्दा नेता र कार्यकर्ताले ठुलो मूल्य चुकाउनुपरेको बताए ।

कार्यक्रममा नेताहरूले मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छोड्ने दाबी गरे । एकतापछिको राप्रपाका अध्यक्षमध्येका एक पशुपति सम्सेर राणाले सनानत धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा अब सिंगो मुलुक उभिने बताए ।

उनले देशमा भ्रष्टाचार मोलाएको र बेथिति बढेकोले अब वैकल्पिक शक्तिको रुपमा राप्रपा उपस्थित भएको बताए । राणाले भारत, चीन र अमेरिका यो सरकारको पक्षमा नरहेको र मुलुकको परराष्ट्र सम्बन्ध बिग्रिएको आरोप लगाए ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दु राष्ट्रको जगतमा राप्रपा अब बलियो र स्थापित शक्ति हुने तर्क गरे । मुलुकमा भ्रष्टाचार बढेको र तीन तहको सरकारको करले जनता मारमा परेको आरोप उनले लगाए ।

राप्रपाका अर्का अध्यक्ष कमल थापाले राप्रपाले निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको तर्क गरे । उनले मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छोड्ने बताए । सम्वर्द्धनवादलाई मुल नीति बनाएको भन्दै यही नीतिले राप्रपालाई लक्ष्यमा पुर्‍याउने ठोकुवा उनले गरेका थिए ।

गएको शनिबार राप्रपा र राप्रपा संयुक्तबीच एकतापत्रमा हस्ताक्षर भएको थियो । डेढ वर्षभित्र महाधिवेशन गर्ने गरी सो अवधिसम्मका लागि तीन जना अध्यक्ष रहने मोडलमा राप्रपा एकीकरण भएको हो । एकीकृत पार्टीको नाम राप्रपा रहेको छ ।

एकतापछि राप्रपाको प्रमुख एजेन्डा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भएको छ । उसले सम्वर्द्धनवादलाई आफ्नो मूल नीति मान्ने भएको छ । राप्रपाले उदारवादलाई आर्थिक नीतिमा निरन्तरता दिएको छ । त्यसै गरी सङ्घीयताको सट्टा सुदृढ स्थानीय शासनको पक्षमा राप्रपा उभिने भएको छ ।

राप्रपा एकतामा ढिलाइ हुनुको मूल चुरो चुनाव चिन्ह रहँदैआउको थियो । एकतापछि उपयुक्त निकायबाट ६ महिनाभित्र चुनाव चिन्ह तय गर्ने सहमति भएको छ । थापा पक्षधर गाई चिन्हको पक्षमा छन् । जनस्तरमा गाई नै सहज र विकाउ हुने दाबी राप्रपा पक्षधरको छ । राणा र लोहनी भने हलोको पक्षमा छन् ।

२०४७ साल जेठ १५ गते गठन भएको राप्रपा फुट्दै र जुट्दै आएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा करिब २० प्रतिशत जनमत लिएर राप्रपा मुलुकको सशक्त शक्ति बनेको थियो । तर २०५४ सालमा विभाजित भएपछि राप्रपाको सङ्गठन खस्किएको थियो ।

गएको संसदीय निर्वाचनमा राप्रपा विभाजित भएकै कारण राष्ट्रिय दल बन्न सकेको थिएन । राप्रपा नाममा तीन वटा दल चुनावमा होमिएका थिए । तिनैवटा दलको मत जोड्दा त्यो राष्ट्रिय दल बन्न पर्याप्त थियो ।

साङ्गठनिक रूपमा कमजोर भए पनि देशका सबै स्थानीय तहमा कुनै न कुनै रूपमा आफ्नो उपस्थिति रहेको राप्रपाका नेताहरूको भनाइ छ । उसको ७७ वटै जिल्लामा सङ्गठन छ ।

 


कस्तो लाग्यो ?

यो पनि