चैत १६, २०८०, शुक्रबार
               

शशांक फेरि भारतमा, हिन्दु विश्वविद्यालयकाे कार्यक्रममा भए सरिक

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

वाराणसी । नेपाली काँग्रेसको आगामी महाधिवेशनमा सभापति पदको दाबेदारमध्येका एक महामन्त्री डा. शशांक कोइराला एकपछि अर्को गर्दै भारतस्थित हिन्दुवादी संस्थाहरूको कार्यक्रममा सहभागी हुन थालेका छन् ।

नेपालले लिएको धर्मनिरपेक्षताको बाटोप्रति फरक मत राख्दै आएका महामन्त्री कोइराला यति बेला वाराणसीमा छन् । केही साताअघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग विशेष भेटघाट गरेको चर्चा सेलाउन नपाउँदै उनी नेपाल अध्ययन केन्द्र, काशी हिन्दु विश्वविद्यालय र नेपाल विद्यार्थी सङ्घ भारतद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सरिक भएका हुन् । 'नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका' शीर्षकमा त्यहाँ शनिवार गोष्ठी भएको थियो । यस पटक पनि कोइराला साथमा काँग्रेस नेता डा. मिनेन्द्र रिजाल त्यता गएका छन् ।

गोष्ठीका प्रमुख अतिथि महामन्त्री कोइरालाले आफूले बाल्यकालदेखि विश्वविद्यालयसम्मको जीवन बिताएकोले  वाराणसीसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताए । नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि काशी क्षेत्रले निकै ठुलो योगदान गरेको  महामन्त्री कोइरालाले स्मरण गरेका थिए । साथै नेपाल र बनारसको बहुआयामिक सम्बन्धले समग्र नेपाल-भारत सम्बन्धलाई उचाइ दिने काम गरेको उनले बताए ।

पछिल्लो समयमा नेपाल धर्मनिरपेक्ष हुन नहुने खुलस्त धारणा राख्दै आएका काँग्रेस नेता रिजालले 'दक्षिण एसियामा प्रजातन्त्रको अवस्था र नेपालको सन्दर्भ'मा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा अध्यक्षता गरेका भारतका प्रसिद्ध समाजवादी चिन्तक तथा जय प्रकाश नारायण, सो विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. हरिकेश सिंहले विपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना गर्न अत्यन्तै ठुलो भूमिका निर्वाह गरेको इतिहास सम्झाएका थिए । उनीहरूले विपीको नाममा काशी हिन्दु विश्वविद्यालयमा रिसर्च सेन्टर खोलेर अनुसन्धानको काम गर्नुपर्ने बताए ।

त्यस्तै केन्द्रीय सदस्य दीपक गिरी, चन्द्र भण्डारी र उदय समसेर राणाले नेपालको प्रजातान्त्रिक आन्दोलन, बाराणसी र विपी कोइरालाको योगदानबारे आफ्नो धारणा राखेका थिए । उनीहरूले नेपाल-भारत सम्बन्धबारे पनि चर्चा गरेका थिए ।

कार्यक्रममा भारतको राज्य सभाका पूर्व सांसद आनन्द भास्कर रापुलु, बनारस हिन्दु युनिभर्सिटीका डिन प्रो. एम के सिंह , प्राध्यापक, राजनीतिककर्मी र विद्यार्थी गरी करिब तीन सय जना सहभागी थिए ।

महामन्त्री शशांक कोइरालालाई टोपी लगाएर स्वागत गर्दै नेविसंघ भारतका महामन्त्री सूर्य न्यौपाने ।

उक्त कार्यक्रमको संयोजन काशी हिन्दु विश्वविद्यालयका प्राध्यापक बीबी सिंह र नेपाल विद्यार्थी सङ्घ भारतका महामन्त्री सूर्य न्यौपानेले गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि