बैशाख २२, २०८१, शनिबार
               

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउँछु नवनियुक्त अध्यक्ष

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गर्ने बताए ।

शुक्रबार पदभार ग्रहण गर्दै उनले सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने बताए  । उनले  अहिलेको महङ्गीले पनि पत्रकारको नयाँ तलबमान पुनरावलोकन आवश्यक रहेको धारणा राखे । 

समिति गठन भएको २५ वर्ष पुग्दा पनि पत्रकारको पेशागत र भौतिक अवस्थामा सुनिश्चित नभएको भन्दै उनले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताए  ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेशागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताए  । उनले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने बताए । 

पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि महासङ्घ लागि परेको भन्दै सरकारले नयाँ तोकेको तलबमान लागु गराउनुपर्ने बताए । उनले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्ने बताएका छन्।

नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गरेका थिए ।सदस्य गौतमले वर्तमान सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताए ।

सो अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्क पन्त, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्टले बधाई दिएका थिए ।

विगत २० वर्षदेखि क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष थिए । यहि फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गरेको छ। 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि