असोज ०६, २०८१, आइतबार
               

विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको छलफल सकियो
विदेशी नागरिकलाई संरक्षक समितिमा राख्न गगन थापाको माग

रासस
फागुन २१, २०७६

ADVERTISEMENT

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकमाथिको छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
 
‘दफावार छलफलका क्रममा केही निर्णय गर्न बाँकी छन्’, उनले भनिन् ।  विधेयकमा २२ सांसदले ७७ बुँदामा संशोधन दर्ता गराएका थिए ।समितिमा संशोधन दर्ता गराएका सदस्यले आआफ्नो सुझावसमेत दिएका थिए । 

शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव डा सञ्जय शर्माले संशोधनकर्ताले दिएको सुझावका आधारमा विधेयक तयार गर्ने बताए । 

समिति सदस्य रामकुमारी झाँक्रीले विश्वविद्यालयले अनुसन्धान र प्राज्ञिक क्षेत्रमा प्रशंसनीय काम गरेको व्यक्तिलाई मात्र मानार्थ उपाधि दिनुपर्ने सुझाव दिइन् । विधेयकमा सांस्कृतिक तथा समाजसेवीलाई समेत मानार्थ उपाधि दिइने उल्लेख गरिएकोमा हटाइएको छ । 

समिति सदस्य गगन थापाले विदेशी नागरिकलाई पनि संरक्षक समितिको सदस्य, विश्वविद्यालयको पदाधिकारीमा राख्न सकिने व्यवस्था हुनुपर्ने बताए । 

‘हाम्रा देशका राम्राराम्रा प्राध्यापक विदेशस्थित विश्वविद्यालयमा छन्’, थापाले भने, ‘हामीले पनि विश्वविद्यालयको संरक्षक समिति र पदाधिकारीमा बाहिरका प्रतिष्ठित प्राध्यापकलाई राख्नुपर्दछ ।’

 सरकारले विज्ञान र प्रविधिका छुट्टै विश्वविद्यालय स्थापना गर्न विधेयक ल्याएको हो । ८५ प्रतिशत विज्ञान र प्रविधि तथा १५ प्रतिशत अन्य विषय पढाइ हुने व्यवस्था रहेको विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा र केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेछ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि