नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार एक सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गरियो । यद्यपि जुत्ताले प्रचण्डलाई लागेन ।
जुम्लाका २२ वर्षीय रतन तिरुवाले प्रचण्डलाई ताकेर जुत्ता हानेका थिए । सत्तासीन नेकपाभित्रको राजनीतिक विवाद उत्कर्षमा पुगेको बेला प्रचण्डमाथि जुत्ता हानिएको हो ।
प्रचण्डमाथि सार्वजनिक स्थलमा दुर्व्यवहार भएको यो पहिलो घटना होइन । आठ वर्षअघि पनि उनलाई थप्पड हानिएको थियो ।
पहिलोपटक थप्पड हानिएको स्थान थियो राजधानीको भृकुटीमण्डप । यस पटक भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको कार्यक्रमस्थल राष्ट्रियसभामा गृहमा जुत्ता प्रहार गरियो । संयोगले यी दुवैस्थल दुई सय मिटरको हाराहारीमा छन् ।
प्रचण्डलाई झापड हान्ने बेलामा एनेकपा (माओवादी)ले चियापान कार्यक्रम आयोजना गरेको थियो । बागलुङका पदम कुँवरले झापड हानेका थिए ।
सांसद झक्कुप्रसाद सुवेदीलाई थप्पड हानेर नेताहरूप्रति आक्रोशलाई हिंसाको सहाराले प्रकट गर्न सुरु गरिएको थियो ।
त्यसपछि सुनसरीमा झलनाथ खनाललाई दुर्व्यवहार गरियो । राजधानीको कपनमा तत्कालीन काँग्रेस सभापति सुशील कोइरालालाई लक्षित गर्दै कुर्सी प्रहार भयो । तर नेताहरू सरिक कार्यक्रममा दुर्व्यवहारको केही समयमात्र सुरक्षा मामिलामा ध्यान दिने र पछि भुल्ने गरेका कारण यस्ता घटना दोहोरिने गरेका छन् ।