जेठ ०८, २०८१, मंगलबार
               

ओलीलाई देउवाको प्रश्न– ‘बाँस्कोटाबारे छानबिनअघि  नै निर्णय दिँदा विश्‍वसनीयता कमजोर भएन ?’

नेपाल फ्ल्यास
फागुन १८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सभापति देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडी गम्भीर नियत लुकेको बताएका हुन् । उनले  अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए । 

‘हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडी गम्भीर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस्’, उनले भने । 

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न गरे । 
‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन ?’, देउवाले  प्रश्न गरे ।   

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाएका छन् । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ । टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे । 

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए । 

उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह पनि गरे । सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको  उल्लेख  गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गरे ।  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए । विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए ।  संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित थिए । 


कस्तो लाग्यो ?

यो पनि