जेठ ०३, २०८१, बिहीबार
               

जनताको बलमा आउने राजसंस्थामात्रै दिगो हुन्छ : कमल थापा

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता डरलाग्दो षडयन्त्र भएको बताउँदै सङ्गठित र योजनाबद्ध ढङ्गले धर्म परिवर्तन भएको प्रति तीव्र आपत्ति प्रकट गरेका छन् ।

पार्टीको सुनसरी बराहक्षेत्र नगर समितिको अधिवेशन उद्घाटन गर्दै थापाले लोभ लालच, भ्रम र प्रलोभनको आधारमा गाउँका गाउँ धर्म परिवर्तन हुँदा पनि सरकार मुकदर्शक भएको बस्नु दुर्भाग्यपूर्ण भएको बताए ।

राप्रपालाई आगामी चुनावमा काँग्रेस कम्युनिस्ट सँगसँगैको तेस्रो शक्ति बनाउने अभियानमा जुट्न थापाले कार्यकर्ताहरूलाई आग्रह गरे ।

जनता विकल्पको खोजीमा रहेको बताउँदै उनले लोकतन्त्रको नाममा लुटतन्त्र भइरहेको आरोप लगाए । थापाले भने- 'जनतालाई लुटतन्त्र मन परेको छैन । वाइडबढी, तेत्तीस क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल करलगायत गोकुल बास्कोटाको काण्ड जनताले राम्ररी बुझिरहेका छन् । त्यसैले जनताले विकल्प खोजिरहेका छन् ।'

अध्यक्ष थापाले जनताको भावना बुझेर राप्रपाले आगामी दिनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । भ्रष्टाचारले नेपाली समाज र राजनीतिमा क्यान्सरको रूप लिएको चर्चा गर्दै उनले राजनीतिलाई भ्रष्टाचारले फोहोरी बनाएको तर्क गरे ।

नेपालको भूराजनीतिको कारण राजसंस्था आवश्यक भएको भन्दै अध्यक्ष थापाले जनताको बलमा आउने राजसंस्था मात्रै दिगो र टिकाउ हुने बताए । थापाले थपे- 'कुनै जस्केलाबाट आउने होइन, सैनिक कु र विदेशी भूमिकाले ल्याउने राजसंस्था दिगो हुन्न । जनताको बलमा आउने राजसंस्था टिकाउ र दिगो हुन्छ ।'

कार्यक्रममा प्रदेश १ अध्यक्ष राम थापाले जनताको घरदैलोमा जान सके पार्टी चाँडै स्थापित हुने दाबी गरे । अधिवेशनले अर्जुन भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नगर समिति चयन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि