बैशाख २८, २०८१, शुक्रबार
               

एक्लिँदै प्रधानमन्त्री, ओलीइतर पक्षको प्रस्ताव- वामदेवलाई राष्ट्रियसभा र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने किन लैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध शीर्ष नेताहरूको मोर्चाबन्दी भएको छ । 

ओलीविरुद्ध भावी रणनीति तर्जुमा गर्न शुक्रवार बिहान अध्यक्ष पुष्पकमल दाहालको घरमा ओलीइतर समूहको बैठक भएको थियो ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले गौतमलाई राष्ट्रिय सभामा नलैजाने बताएपछि शुक्रवार बिहान शीर्ष पाँच नेताहरूको छुट्टै बैठक बसेको थियो । 

कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सो बैठकमा सहभागी थिए । 

बिहान करिब आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा केन्द्रित रहेको स्रोतको दाबी छ । 

बैठक १०ः३० मा सकिएको थियो । सुरुमा प्रचण्ड निवासमा झलनाथ खनाल पुगेका थिए । त्यसपछि माधव नेपाल, वामदेव गौतम पुगेका थिए । नारायणकाजी श्रेष्ठ र ऊर्जामन्त्री वर्षमान पुन पनि ढिलो गरी पुगेका थिए । बैठकमा ऊर्जा मन्त्री भने सहभागी भएनन् । 

पुन भने केहीबेर प्रचण्डसँग छलफल गरेर निस्केका थिए । त्यसै गरी वामदेव गौतम महासचिव विष्णु पौडेल घरमा आएको थाहा पाएपछि बाहिरिएका थिए । बिहान गौतम र पौडेलबीच पनि छलफल भएको थियो । 

खुमलटारको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमै कायम राख्ने रणनीति तय गरेको स्रोतको दाबी छ । सोही सहमतिअनुसार नेता माधव नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रचण्ड निवासमा भएको छलफलको सन्देश सुनाएको स्रोतको दाबी छ । 

नेकपामा पछिल्लो समय नेता गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा तीव्र विवाद देखिएको छ । बुधवार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रूपमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । 

तर, त्यो निर्णयप्रति अध्यक्ष ओली असन्तुष्ट छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनीतको लागि सरकारले सिफारिस नगर्ने बताएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको हो । 

ओली हालका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा निरन्तरता दिन चाहन्छन् । नेता खनाल, नेपाललगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिन थालेका छन् । 

नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओली बाहेकका शीर्ष नेताबीच यस्तो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘बैठकमा शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । आजै प्रचण्डको चितवनमा कार्यक्रम भएकोले आजलाई धेरै कुरा भएको छैन । मूलतः प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने बारेमा छलफल भयो’, बैठकपछि सचिवालयका एक सदस्यले भने । 

बैठकपछि चितवन पुगेका प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई समस्या नभएको कार्यान्वयन हुने स्पष्ट रूपमा बताएका थिए । चितवनको कार्यक्रम सकेर प्रचण्ड सिधै सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए । 

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न निर्णय गरेको केही घण्टामा ओलीले त्यसलाई नमान्ने बताएपछि माधव नेपालले पार्टी निर्णय कार्यान्वयन गराउनुस् र खतिवडाको बारेमा पछि सोचौला भनेका थिए । 

नेता नेपालको भनाइपछि ओली मौन रहे पनि नेताहरू ओलीको अटेरीपनप्रति सशङ्कित छन् । झलनाथ खनालले पार्टीको निर्णय नमान्ने त पार्टी बाहिरका व्यक्तिले मात्रै भएको बताउँदै ओलीले पार्टीको निर्णय मान्नु पर्ने बताएका छन् । 

सचिवालयको बैठकमा विवाद भएपछि बिहीबार सचिवालयका चार नेता एउटा मञ्चमा भेला भए पनि त्यसबारे कुनै प्रतिक्रिया दिएनन् । उनीहरूले पार्टी विभाजन नहुने, माथिको विवादमाथि नै मिल्ने भन्दै विवादलाई छल्ने प्रयास गरेका थिए । सचिवालय बैठकमा पुस २३ पछि ओली कमजोर बन्दै गएका छन् । बैठकमा उनलाई ईश्वर पोखरेलले मात्रै साथ दिइरहेका छन् । महासचिव विष्णु पौडेल पनि मेलमिलाप र मध्यममार्गमा देखिएका छन् । 

आफू कमजोर बन्दै गएको महसुस भए पनि ओलीले माधव नेपाललाई पटकपटक भेटेर आफू निकट बनाउने कोसिस गरे पनि त्यो सम्भव देखिएको छैन ।
 

यो पनि