जेठ ०३, २०८१, बिहीबार
               

ओली सरकार ढाल्ने षडयन्त्र भइरहेको छ : कमल थापा

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तासीन नेकपाभित्र सरकार ढाल्ने खेल भइरहेको बताएका छन् ।

राप्रपा प्रदेश २ ले जनकपुरमा बुधवार गरेको कार्यक्रममा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई अस्थिर बनाउने र ढाल्ने खेल जारी रहेको बताए ।

नेकपाभित्र विवाद चुलिइरहेको बेला अध्यक्ष थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सरकार ढाल्ने योजनालाई षडयन्त्रको संज्ञा दिँदै विगत जस्तो सरकार ढाल्ने गिराउने खेल हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । विगतका सरकारहरू अस्थिर रहेकै कारण मुलुकले विकास निर्माणलाई गति लिन नसकेको उनको भनाइ थियो । 

अध्यक्ष थापाले कुनै खास व्यक्तिका लागि संविधान संशोधन गर्नु लज्जास्पद र दुखद् रहेको बताएका छन् । उनले संविधान संशोधन गर्ने भए सबैलाई मान्य हुनेगरी अघि बढ्न सुझाएका थिए । संविधानप्रति मधेसमा आक्रोश रहेको र आफ्नो दलको पनि असन्तुष्टि भएको जनाउँदै थापाले कुनै एक व्यक्ति विशेषका लागि संविधान संशोधनमा नलाग्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

अध्यक्ष थापाले ओली नेतृत्वको सरकार दुई तिहाइनजिकको र बलियो भए पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकार गठन भएको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि जनताले विकासको अनुभूति गर्न नसकेको उनको आरोप थियो ।

अमेरिकी सहयोग परियोजना एमसिसीबारे पनि थापाले सत्तासीन नेकपाप्रति कटाक्ष गरेका थिए । उनले भने- ‘ नेकपा विचित्रको पार्टी हो, यसमा सिद्धान्त र विचार देखिएन । कोही एमसिसीको समर्थन गर्छन् भने कोही त्यसको विरोध गर्छन् ।’ 

अध्यक्ष थापाले एमसिसी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ड्राफ्ट गरेको स्मरण गराए । त्यसको केही प्रक्रिया शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बढायो र अहिलेको सरकार कार्यान्वयनमा लादै छ ।’ एमसिसीका केही बुँदा भने संशोधन गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो । 

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले सरकारले जनताको हितमा कुनै कदम चाल्न नसकेको आरोप लगाए । उनले महंगी बढिरहँदा पनि सरकार र सत्तासीन दल आपसी किचलोमा रुमलिनु दुर्भाग्यपूर्ण भएको जनाए । भ्रष्टाचार र बेथिति बढेकोप्रति उनले सरकारको कटाक्ष गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि