बैशाख १५, २०८१, शनिबार
               

भ्रष्टाचारीहरू मिलेर बनाएको सरकारलाई सडकबाटै जवाफ दिन्छौं : उपेन्द्र यादव

नेपाल फ्ल्यास
फागुन १०, २०७६

ADVERTISEMENT

सरकारले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई सडक संघर्षबाटै जवाफ दिने धम्की दिएका छन् । 

शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित आमसभामा पूर्वउपप्रधानमन्त्री यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताएका हुन् ।

 ‘मधेसी, थारू र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने समय आउँदैछ’, यादवले भने, ‘संविधान संशोधन नहुँदासम्म सरकारसँग लड्न र अन्दोलन गर्न तयार छौं ।’

राज्यले पैसा र अनुहार हेरेर नागरिकता दिएको भन्दै उनले नेपाल बन्नुभन्दा मधेसमा बसोबास गरेका थुप्रै नेपालीका सन्तानले नागरिकता पाउन नसकेको उनले बताए ।

आफूहरु विदेशीलाई नागरिकता दिन हुन्न भन्ने पक्षमा रहेको स्पष्ट पार्दै नागरिकताका विषयमा संविधान त्रुटिपूर्ण रहेकाले नागरिकता ऐनलाई सच्याउन माग गरे । 

नागरिकतामा लैंगिक असमानता पनि रहेको उनको भनाइ थियो । ‘महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्छ’, यादवले भने, ‘जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्छ ।’

केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको उनले बताए ।

अहिलेको सरकार भ्रष्टाचारीहरु मिलेर चलाएको भन्दै उनले कम्युनिस्टको नाममा भ्रष्टाचार र लुटतन्त्र मात्रै मौलाएको बताए । 

यसैबीच कपिलवस्तु शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षसँगै वडाध्यक्ष विजयबहादुर यादव पनि समाजवादीमा प्रवेश गरेका छन् ।

यो पनि