मंसिर ०७, २०८१, शुक्रबार
               

बाँके–बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन : अध्यक्ष दाहाल

रासस
फागुन ०७, २०७६

ADVERTISEMENT

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् ।  सुर्खेत विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले  भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताएका हुन् । 

‘प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्’, अध्यक्ष दाहालले भने, ‘प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो, अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन ।’ 

अध्यक्ष दाहालले सङ्घीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेषरुपले सम्बोधन गर्नुपर्ने बताए ।  पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उहाँले यस विषयमा पार्टीले सङ्घीय सरकारलाई आवश्यक निर्देशन दिने बताए ।  

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले  सङ्घीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे । उनले भने, ‘जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ ।’

सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने उनले  प्रतिबद्धता व्यक्त गरे ।  पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष प्रचण्ड मङ्गलबार सुर्खेत आएका हुन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि