कात्तिक ३०, २०८१, शुक्रबार
               

भौतिक शरीर नरहे पनि राष्ट्रकवि सदैव जिवित

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन् । एक सय एक वर्ष उमेरमा मंगलबार दिवंगत भएका राष्ट्रकविका सिर्जना र योगदान नेपाल र नेपालीले कहिल्यै भुल्ने छैनन् ।

राष्ट्रकविको जन्म १९७६ साल असोज ७ गते भएको थियो । उनी पिता गौरीशंकर र माता द्रौपदीदेवी घिमिरेकाे काेखबाट गण्डकी अञ्चल लमजुङ जिल्ल्लाको बाहुनडाडास्थित पुस्तन गाउँमा जन्मेका थिए ।

तीन वर्षको उमेर नपुग्दै उनले मातृवियोग भोग्नु परेको थियो । उनको बाल्यकाल सुख र सन्तोषसँग बित्न पाएन । उनी आफ्नै जन्मगाउँको रमणीय र प्रेरणाप्रद प्राकृतिक परिवेश र वातावरणमा रमाउँदै बाल्यकाल गाउँमै बितेको थियो ।

६ वर्षकै उमेरमा घरमै अक्षरारम्भ गरी दुर्गाकवच र चण्डी पढ्न थालेका उनले ८–९ वर्षको उमेरदेखि पाञ्चाङ्ग निकाल्ने ज्योतिष विषयको अध्ययन गर्न थाले । १२ वर्षको उमेरमा लमजुङको दुराडाँडामा आई मोक्षेश्वर घिमिरेसँग उनले थप गणित विषय र फलित ज्योतिषको अध्ययन गरेका थिए । त्यस प्रकारका त्यसबेलाका अत्यन्त प्रभावकारी र फलदायी विषयको अध्ययनले उनमा एकातिर आत्मविश्वास बढ्यो भने उनी फलित ज्योतिषमा राम्रै कुराकानी गर्न सक्ने अवस्थामा पुगे ।

१९९० मा १५ वर्षको उमेरमा लमजुङ खुदीवेनीकी गौरी खोखरेलसँग माधव घिमिरेको विवाह भएको थियो । विवाहपछिका करिब २ वर्ष उनले ससुरालीमै बिताए ।

ससुरालीमा बस्दा खुदीवेनीमा रहेकाे संस्कृत पाठशालामा उनले रघुवंश, हितोपदेश, लघुकौमुदी लगायतको गहन अध्ययन गरे । त्यसपछि उनी पत्नी गौरीसित सरसल्लाह गरी पत्नीका केही गहना र अन्य रकम जुटाई पढ्न भनी नेपाल (हालकाे राजधानी काठमाडौं) आएका थिए । काठमाडौं आउनुपूर्व नै १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरिसकेका थिए ।

राजधानी आएपछि उनले देखेका घटना र भोगेका सन्दर्भलाई लयमा हालेर सुन्दर कविता बनाई उनी कक्षामै सुनाउँथे । वि.सं. १९९३ मा उनी राजधानीकाे रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना भएका थिए । त्यसपछि उनी तीनधारा संस्कृत पाठशालामा भर्ना भए । तीनधारा संस्कृत पाठशालामा दर्शन विषय लिई अध्ययन गर्दा उनी आन्तरिक र फाइनल गरी हरेक परीक्षामा प्रथम भए । त्यसपछि उनी भारतको बनारसस्थित क्विन्स कलेज पुगे र त्यहाँबाट प्रथम श्रेणीमा सम्पूर्ण मध्यमा पास गरे ।

घिमिरेले २००१ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे भएर काम गरेका थिए । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे ।

जागिरकै सिलसिलामा २००८ सालमा लमजुङकै एक विद्यालयमा प्रधानाध्यापक समेत भएर सेवा गरेका थिए । उनकी धर्मपत्नी गौरीको २००४ साल असारमा निधन भएको थियो । शान्ति र कान्तिनामक दुई टुहुरा छोरीलाई खुदीबेनी मामाकोघर पठाई त्यसको एकवर्षपछि उनी प्रधानाध्यापक भई आधार शिक्षामा लमजुङ आएका थिए । पत्नी वियोगको कठोर पीडाका बीचमै २००५ सालमा दुराडाँडाका अधिकारी थरकी महाकालीसित घिमिरेको दोस्रो विवाह भएको थियो । जागीर र सेवाका सिलसिलामा पछिल्लो समयमा माधव घिमिरे शिक्षक शिक्षण केन्द्रमा शिक्षक, नेपाल भारत मैत्री संघका अध्यक्ष, कलेज अफ एजुकेशनका लेक्चर, काव्यप्रतिष्ठानको सदस्य, इन्द्रेणीका सम्पादक तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य र उपकुलपति हुँदै कुलपतिसमेत बनेका थिए ।

नेपाली साहित्यमा संख्यालाई भन्दा गुणलाई महत्व दिने माधव घिमिरे स्वच्छन्दवादी कविकाे रुपमा चिनिन्छन् । २०६० साल असाेज ७ गते प्रज्ञाहल काठमाडौंमा उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट अभिनन्दित भएका थिए । सोही सामारोहमा उनी छन्द शिरोमणि घोषित भएका थिए । त्यसको तेस्रो दिन अर्थात् असोज ९ गते उनी 'राष्ट्रकवि’ घोषित भए ।

उनी एउटा कुशल साहित्यकार, पत्रकार एवं सम्पादकको रूपमा उनले निर्वाह गरेको भूमिका पछिल्लो पुस्ताका लागि समेत प्रेरणादायी बनेका थिए । चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली'का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा 'फूलको थुङ्गा बगेर गयो' तारादेवीले गाइन् भने 'आजै र राति के देखेँ सपना' नारायण गोपालले गाएका छन् । उनको लेखनको मूल केन्द्रविन्दु छन्दोबद्ध कविताकाव्य हाे । वि.सं. २००४ सालमा धर्मपत्नी गौरीको निधन र त्यसबाट उत्पन्न शोकपीडा माधव घिमिरेको जीवनको सबभन्दा ठूलो दुर्घटना हो ।

त्यही दुर्घटनाको सेरोफेरोमा रचित गौरी (२०१५) खण्डकाव्य उनको एक विशिष्ट कृति हाे । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०), किन्नर-किन्नरी (वि.सं. २०३३), राहुल यशोधरा (२०३५–बाल लघुकाव्य) र र चैत बैशाख (२०६०) संकलित छन् ।

त्यस्तै गीतिनाटकतर्फ घिमिरेका कृति मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) हुन् । नेपाली बालसाहित्यतर्फ उनका सनपङ्खी चरी, घामपानी बाललहरी, गौंथली र गजधम्मे आदि प्रकाशित छन् ।

घिमिरेको भौतिक शरीर नरहे पनि उनका कृति र योगदानले नेपाल र नेपाली साहित्यमा अविश्मरणीय रहने छन् ।

यो पनि