बैशाख २०, २०८१, बिहीबार
               

जन्मदिन

नेपाल फ्ल्यास
असार ०३, २०८०

ADVERTISEMENT

- डी. पी.  दाहाल 'परिश्रमी'  

जन्मदिन
तिमी फेरि फर्केर आएछौ 
पोहोर भन्दा अहिले
अहिले भन्दा पहिले 
मलाइ बारम्बार सम्झिरहन्छौ
र बारम्बार सोधिरहन्छौ
मलाई बुझ्ने भए देखि
जहिल्यै सोधिरहन्छौ र भन्छौ
तैँले अहिलेसम्म के के गरिस् ?
कहाँ कहाँ गइस् ?
तैँले क ख पढेको विद्यालय सम्झेको छस् ?
तँलाई क ख चिनाउनेलाई सम्झेको छस् ?
तैँले क(कस्ता साथी बनाइस् ?
तँ हिँडेको बाटो त ठिक छ ?
तँ आफैसँग मपाईँ नगर है 
आफ्नो अनुहार ऐनामा हेर्ने गर है ।
जन्मदिन मलाइ सम्झाइरहन्छ ।

तँ त पञ्चायतमा जन्मिस्
प्रजातन्त्रमा हुर्किस्
गणतन्त्रको उर्वरमा दौडेको छस्
तेरा गणतन्त्रवादीहरू के गर्दै छन् ?
कस्का लागि काम गर्दै छन्?
रासन पनि आयस्रोतले थेग्ने दिन्छन् ?
सोध्ने गर्नु समयमै 
समय घर्केपछि त के गर्नु ?
तँपनि साक्षी किनारामा मात्र बस्लास् नि !
जन्मदिन मलाई सम्झाइरहन्छ ।

मैले भनेँ
म नागरिकको कर्तव्य पालन गर्छु
क्षमताले भ्याउने काम गर्छु
अर्काको बहकाउमा हिँड्दिन
जनप्रतिनिधिको विकासप्रेमको आशा गर्छु
राष्टसेवकलाई अब गल्ती गर्ने छुट छैन भन्छु
नेपालीमाथि हेपाइसो छ
सहयोगका नाममा धर्मले थिच्दो छ
पैसाले सबैलाई किनेको छ
मूलबाटोमा पैसा छैन
चोरबाटोमा हाक्काहाक्की छ
म यति भन्छु यो सालको जन्मदिनमा
बाँकी अर्कोसाल भनौँला ।

जन्मदिन अब प्रश्न नगर
यो साल यति ।

सबैको शुभकामना प्रेमिल बनोस्
मनमनमा मायाप्रेम छाइरहोस्
विदा मागेँ जन्मदिन
विँदा मागे सबैसँग ।
जय होस् ।।

यो पनि