कात्तिक १५, २०८१, बिहीबार
               

तरुल (कथा)

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

यतिखेर बसमा धेरै जना सिमतरुल खाँदै छन् । धरानको सिमतरुल । यतिखेर बसमा धेरै जनाले सुन्तला पनि खाँदै छन् । धरानको सुन्तला । यस सिजनमा धरान टू विराटनगरको बसभित्र सिमतरुल र सुन्तला स्वाद मानीमानी खाइरहेका प्यासेन्जरहरू थुप्रै हुन्छन् । धरानको फुटपाथ सुन्तला र तरुलले शोभायमान देखिन्छ ।

बस छुट्ने समय त भैसकेको थियो । तर बसले अझै हिँड्न अल्छी गरिरहेको थियो । बसमा अझै सिटहरू प्रशस्त बाँकी पनि थिए । टिकट काउन्टरमा पैसाको हिसाब किताब गरिरहेको ड्राइभरले खलासीलाई बस स्टार्ट गर्न अह्रायो । खलासी अगाडिको पांग्रामा टेकेर उक्लियो र ड्राइभरको सिटमा बसेर के के न जानेझैँ बस स्टार्ट गर्‍यो । लगत्तै लुत्त ओर्लियो । बसलाई खलासीले यसरी स्टार्ट गर्नु र लगत्तै ओर्लनुले यतिखेर दुइटा कुराको संकेत गर्दै थियो पहिलो, अब एकैछिनमा बस हिँड्छ । दोस्रो, बस हिँड्न अझै केही समय बाँकी छ । जसले जसरी बुझे पनि हुने । काइदाको तरिका । 

यी लाचार तीनै पुस्तालाई जीवन बाँच्नुबाहेक पनि केही हो भन्ने कुराको फिटिक्कै जानकारी छैन । यिनीहरूको लागि जीवनको अर्थ हो बाँच्नु । जसोतसो बाँच्नु ।

स्टार्ट नै भैहालेपछि बसभित्र बिस्तारै मानिसहरू भरिन थाले । तर सिटहरू अझै पनि थुप्रै खाली थिए । ठीक यतिखेरै तीन पुस्ताका प्रतिनिधि तीनजना महिलाहरू एकसाथ बसभित्र पसे र आफ्ना लागि उपयुक्त सिट खोज्न थाले । सबैभन्दा बुढीले बाँकी पुस्तालाई अह्राउँदै भनी- “म ह्याँ बस्छु । बुहारी, तँ उःद्रद्र त्याँ बस् र सीता तँ चाहिँ उःद्रद्र त्यता बस् ।”

यति भनेर बुढी चाहिँ आफूद्वारा निर्धारित सिटमा बसी । बाँकी दुई पुस्ता पनि क्रमशः बुढीले निर्धारण गरिदिएकै ठाउँमा बसे । अलि परपर ।

सिट प्रशस्त खालिनै हुँदा पनि यिनीहरू सँगै एकै ठाउँमा किन बसेनन् ? किन कनिकाझैँ छरिएर बसे ? कसैले त्यतातिर केही सोचेनन् । ध्यान पनि दिएनन् । 

“आमा, यहाँ त यो पोको अटाएन नि !” यो संवाद बोल्नेको नाम सीता हो । सीताले यो संवाद बुढीले अघि बुहारी भनेर सम्बोधन गरेकी अधबैँसे आइमाईसित गरेकी थिई । यही संवादबाट यिनीहरू सासू, बुहारी र नातिनी रहेछन् भन्ने कुरा स्पष्ट भयो । तर बसमा यो नातासम्बन्धबारे कसैले केही चासो देखाएन ।

यी तीनै पुस्ता अचेल रक्सी पार्ने काम गर्छन् । रक्सी बेचेर आएको पैसाले आफ्नो जीवनलाई बाँच्न योग्य बनाउँछन् । त्यसबाहेक यिनीहरूसित अरू वैकल्पिक उपाय केही पनि छैन । भर्खर भर्खर जसो देशमा प्रजातन्त्र आएकोले देश राजनीतिक दाउपेचमा अल्झिएको छ । नेताहरू कुर्सीको जोहोमा छन् । पार्टीहरू सत्ताको मोहमा छन् । त्यसैले हाल यिनीहरूका निम्ति वैकल्पिक उपायको व्यवस्था गरिदिने फुर्सद कसैलाई पनि छैन । त्यसो गर्ने इच्छाशक्ति पनि छैन कसैसित । त्यसैले यी लाचार तीनै पुस्तालाई जीवन बाँच्नुबाहेक पनि केही हो भन्ने कुराको फिटिक्कै जानकारी छैन । यिनीहरूको लागि जीवनको अर्थ हो बाँच्नु । जसोतसो बाँच्नु । 
००० 

बुढीले आफ्नो उमेरलाई तान्दै घिसार्दै पचहत्तर नघाइसकेकी छ । बुढी चालिसकी हुँदा उसको साठी वर्षे बुढाले आफ्नो जिन्दगीलाई नियतिसित पराजित भावमा टुङ्ग्याएको थियो । त्यसभन्दा बढी बाँच्ने रहर उसलाई थिएन पनि, स्थिति पनि थिएन । चौधदेखि चालिस वर्षको वैवाहिक उमेरमा उ बाह्रपल्ट ब्याई । हाल उ चार छोरा र तीन छोरीकी आमाका रूपमा स्थापित छे । दुइटा छोरा र एउटी छोरीकै बिहेमा बुढीको आर्थिक स्थितिले तँ तँ र म म गरेर बाझाबाझ गर्न थालेपछि बाँकी दुईटी छोरीले आआफ्नो किसिमले आफ्नो घरजम बसाल्ने निश्चय गरे । दुवै पालैपालो बुढीले कुजात ठानेकासित पोइल गइदिए । छोरीहरूको यस्तो व्यवहारले बुढीलाई साह्रै दुःखी तुल्यायो । उ यसबापत सालाखाला चारपाँच दिन रोई । त्यसो त उसको सम्पूर्ण जीवन रुनैमा बितेको भए पनि रुवाइका ती चारपाँच दिनले बुढीलाई गजबले गलाइदियो । सुकेर हाडछाला भई ।

अब जम्मा चार जना छोराको शरणमा रहेकी बुढीको मुटुमा त्यतिखेर ठुलो पहिरो गयो, जतिखेर उसका दुई अविवाहित छोराहरू अंशबन्डा र बुढीको मृत्यु गरी जम्मा दुई दिन मात्र घरमा फर्कने गरी आआफ्नो बाटो लागे । दुवै रोजगारको खोजीमा भारत पसे । एउटा बम्बईतिर करोडपतिको दरबान भयो र अर्को दिल्लीको पहाडगन्जमा एउटा सस्तो खाले होटेलमा बेरा भयो ।

अब बुढीको भागमा जेठो र माइलो छोरा मात्र रहे । माइलो एक नम्बरको जुवाडे, गँजडी र सुकुलगुन्डा भएर निस्केपछि घरव्यवहारको सम्पूर्ण बोझ जेठो छोराको थाप्लामा पर्‍यो ।

ऊ तीन महिनाकी हुँदा उसकी आमाको छातीमा दूध सुकिसकेको थियो । अभावलाई त उसले त्यतिबेलादेखि भोग्न थालेकी हो । त्यो क्रम आजसम्म पनि जारी छ । उसले कहिल्यै चाहे जस्तो लगाउन पाएकी छैन । दुई छाक पेटभरि खाएको इतिहास छैन ऊसित ।

आम्दानीका अरू स्रोतहरू उतिसारो अनुकूल नभएपछि बुढी र बुढीको जेठो छोराले रक्सी बनाउने आफ्नो पुर्ख्यौली पेसालाई नै आफ्नो जीवनयापनको माध्यम बनाउने निश्चय गरे ।

त्यो दिन, जुन दिन पुनः यो निर्णय गर्नुपर्‍यो, बुढीका लागि अत्यन्त पीडादायक थियो । रक्सी जस्तो घृणित कुरो बनाएर उ दुनियाँका सन्तानहरूलाई बिगार्न चाहन्नथी । तर अर्को उपाय केही पनि त थिएन । बुढीले अन्ततः स्थितिसित सम्झौता गरी । नियतिको कागजातमा ल्याप्चे लगाई ।

केही फटाहाहरूले युरिया र स्पिरिट मिसाएर रक्सी उत्पादन गर्न थालेपछि धरानमा विषालु रक्सीले बाँच्ने सम्भावना भएका केही मान्छेहरू असमयमानै मरे । आमाछोराकोे व्यवसाय राम्ररी जम्न नपाउँदै धरानमा रक्सी विरोधी आवाजहरू उठ्न थाले । प्रशासनले रक्सीको अवैध उत्पादन र वितरणमा प्रतिबन्ध लगायो । लुकीछिपी रक्सी पारिहाले पनि धरानमा घरेलु रक्सीको बिक्री वितरण असहज हुन थाल्यो । खपत पनि कम हुन थाल्यो ।

अब उनीहरूका दुर्दिनहरू फेरि सुरु भए । उनीहरूका लागि जीवनयापन क्रमशः जटिल र झन् जटिल विषय हुन थाल्यो । 

विराटनगरतिर भने धरानको लोकल रक्सीको माग भने अझै पनि निकै थियो । त्यसैले आँट हुनेले आफूले पारेको रक्सी पुलिस प्रशासनको आँखा छल्दै विराटनगर लगेर बेच्न थाले । बुढीहरूले पनि आँट गरे । त्यसैले आज यिनीहरू पनि विराटनगर जाँदै छन् ।

आज केही आम्दानी भइहालेका खण्डमा बुढी आफ्ना लागि एउटा कात्रो किनेर फर्कने विचारमा छे । अचेल बुढीलाई ‘अब म धेरै दिन बाँच्दिनँ’ भन्ने आभास हुन थालेको छ । हरेक रात सपनामा मरिसकेको लोग्नेले बोलाइरहेको देख्छे । पोहोर क्याम्पमा आँखा जँचाउँदा तत्काल मोतीबिन्दुको अपरेसन गर्नुपर्छ भनेको थियो डाक्टरले । अपरेसन गर्ने उपाय नै भएन । अब त आँखा झन्झन् धमिला हुँदै छन् । छेउमै उभिएको मान्छेलाई पनि ठम्याउन गाह्रो पर्न थालेको छ । उमेरले शरीरका इन्द्रियहरूलाई मैन झैँ गाल्दै लगेको छ । शक्ति क्षीण हुँदै छ । जीवनप्रतिका मोहहरू सकिँदै छन् । बाँकी दिनहरू अलिक सजिलो किसिमले बिताउन पाइयोस्, बस बुढीको चाहना यति मात्र हो । बस्, यत्ति ।
०००
बुहारीको पनि आफ्नै खाले कथा छ । अठार वर्षको उमेरमा बीस वर्षको लोग्नेको आड भरोसामा उ आफ्नो माइत काँकडभिट्टाबाट धरान आइपुगेकी हो । माइतमा छँदा बाबु लोकल बसको ड्राइभर थिए । आम्दानी त सीमितै थियो नि । तर भनेर के गर्नु ? त्यति ठुलो परिवार बाबुको ड्राइभरीमा आश्रित थियो । त्यसैले अभावैअभावमा उसले आफ्नो सम्पूर्ण बाल्यकाल गुमाउनु पर्‍यो । रहर त कति थिए कति । तर ती रहरहरू पूरा गर्ने अवसर पाउँदै पाइन उसले । कहिले पनि पाइनँ ।

आज, बिहेको पच्चिस वर्षपछि पनि उ त्यही स्थानमा छे, त्यही हैसियतमा छे, जहाँबाट उसले सुन्दर भविष्यको विश्वासका साथ आफ्नो वैवाहिक जीवनको यात्रा थालेकी थिई । ठाउँ फेरियो, परिवेश फेरियो, समय फेरियो । बस, यति मात्र । नत्र उसको जीवनमा के पो फेरियो र ? बाँच्ने क्रममा उसले कहाँकहाँ र कैलेकैले, कोकोसित, कतिकति पटक निरीह र कतिकति पटक लाचार बन्नुपर्‍यो भन्ने कुराको साक्षी ऊ आफैँ छे ।

अहँ, अब उसित जीवनप्रति कुनै आकर्षण बाँकी छैन । जीवनप्रति कुनै गुनासो पनि बाँकी छैन । अब स्थितिलाई हिसाबकिताबझैँ सच्याएर फेरि सुरु गर्न सकिँदैन भन्ने कुरा उसले बुझिसकेकी छ । 

यत्रो उमेरमा उसले दुइटा कुरा मात्र जानी । आइमाई हुन र रक्सी पार्न ।
०००
सीता पनि अठार वर्षकी त भैसकी नि । त्यसैले अचेल उसको शरीरसँगसँगै उसका रहरहरू बढ्दै छन् । रहरसँगै ऊभित्र अनौठाअनौठा तिर्सनाहरू पनि उत्ताउलो पाराले हुर्कँदै छन् ।

ऊ तीन महिनाकी हुँदा उसकी आमाको छातीमा दूध सुकिसकेको थियो । अभावलाई त उसले त्यतिबेलादेखि भोग्न थालेकी हो । त्यो क्रम आजसम्म पनि जारी छ । उसले कहिल्यै चाहे जस्तो लगाउन पाएकी छैन । दुई छाक पेटभरि खाएको इतिहास छैन ऊसित ।

तर पुलिसले उसको याचना सुन्दैन । उसरी नै सडकमा ग्यालिनबाट रक्सी पोखिन्छ । रक्सीसँगै बुहारीका सपनाहरू पोखिन्छन् । रक्सीको गन्धसँगै उसका जीवनका अर्थहरू पनि उडेर जान्छन् । मनको आकाशमा उडिरहेको पुच्छ्रे चंगा चुँडिन्छ र बेसहारा भएर आकाशमै बत्तिन्छ ।

उसलाई पनि थाहा छ, उसलाई उसकी आमाले हैन रक्सीको दुर्गन्धले हुर्काएको हो । रक्सीको दुर्गन्धले उसलाई माया गरेको हो । रक्सीको दुर्गन्धले उसलाई तरुनी बनाएको हो । तर अब भने उ रक्सीसितको नातासम्बन्धबाट फुत्कन चाहन्छे । मुक्ति चाहन्छे ऊ यो साइनोबाट । त्यसैले रक्सी पार्दापार्दै उसले एकदिन एउटा छेउकै मोटरसाइकल वर्कसपमा काम गर्ने केटालाई मन पराइ । दुवैले मन पराए । रक्सी पारिरहेको माटाको बडेमानको हाँडीपछाडि लुकेर एकअर्कालाई म्वाइँ पनि खाए । यसरी तिनीहरुबीचको माया प्रगाढ भयो । प्रगाढ हुने क्रमले निकै समय निरन्तरता पायो ।

केटाले त उसै बेला भागौँ भन्थ्यो । तर सीतालाई त्यतिखेर आँट आएन । घर परिवारलाई बिचल्लीमा पारेर झट्ट केटोसित भागिहाल्न पटक्कै सकिन उसले । तर अब भने सीताले निश्चय गरिसकेकी छ । अभावै अभावले भरिएको यो घटिया जिन्दगी बाँच्न अब ऊ तयार छैन । उध्रेको लुगा लगाउन अब ऊ तयार छैन । दुई छाक पेटभरि खाएको इतिहास बनाउन चाहन्छे अब ऊ ।

आज विराटनगरको सेकुवा पसलमा रक्सी बेचिसकेपछि उ सुटुक्क त्यहाँबाट फुत्कने सुरमा छे । त्यो केटोले बसपार्कमा कुरिरहन्छु पनि भनेको छ । यसरी ऊ आजै त्यो केटासित भागेर घरजम गर्ने सुरमा छे । त्यसैले उसको मनमा थामिनसक्नु तिर्सना जागेको छ यतिखेर । उसको मनको आकाशमा पुच्छ्रे चंगा उत्ताउलो पाराले उडिरहेछ । त्यसैले ऊ अघि भर्खर हजुरआमा र आमाको आँखा छलेर किनेको तरुल  खाँदै छे । धरानको सिमतरुल । हतारहतार ।

०००

सासू, बुहारी र नातिनी । यतिखेर तीनै जनाको मनको आकाशमा पुच्छ्रे चंगा बत्तिएर उडिरहेको छ । तीनै जना यतिबेला बेग्लाबेग्लै सिटमा आआफ्नो सपना बुन्दै छन् । आआफ्नै खालका सपनाहरू । उसो त तीनैजनाका सपनाहरू बेग्लाबेग्लै छन् । तर कतै न कतै, कुनै न कुनै विन्दुमा पुगेर सबै सपनाहरूको अर्थ आश्चर्यजनक रूपले एउटै भएका छन् । अभावदेखि उन्मुक्ति । बस् । यसभन्दा बेग्लै यिनीहरूले कुनै सपना देखेका छैनन् । त्यसभन्दा विशाल र त्यसभन्दा ठुलो सपना यिनीहरूले बुनेका पनि छैनन् । बुढी रक्सी बेचेर एउटा कात्रो किन्न चाहन्छे । बुहारी रक्सी बेचेर सजिलो किसिमले घरव्यवहार चलाउन चाहन्छे । सीता रक्सी बेच्ने निहुँमा आफ्नो राजकुमारसित भाग्न चाहन्छे । त्यसैले यतिबेला यिनीहरूको सपनाको पृष्ठभूमिमा रक्सीको न्यानो सलबलाइहरेको छ ।

उनीहरुको सपना पूरा होस् । बसमा कसैले पनि यस्तो खालको कामना गरिरहेका छैनन् । 

०००

दुहबी । सुनसरी र मोरङ जिल्लाको सिमाना । दुहबीको चेकपोस्ट अगाडि बस रोकिन्छ । खलासी ओर्लेर ढाटनेर उभिएको एउटा पुलिसनेर पुग्छ । उसको कानमा खासखासखुसखुस गर्छ । पुलिसका कान बिरालाका झैँ ठाडा हुन्छन्, दृष्टि चनाखो हुन्छ । खलासीसँगसँगै ऊ पनि बसभित्र छिर्छ । सासू, बुहारी र नातिनी चुपचाप प्रतिक्रियाहीन बसिरहेछन् । कमजोर आँखाले पनि बुढीले पुलिसलाई ठम्याउन सकिहाली । तर उसले चाल नपाएझैँ गरिरही । तर के गर्नु ? पुलिस सबैभन्दा पहिले बुढीनेर नै आएर उभियो । बुढीको सिटमुनि हात छिरायो । बुढीले कति जतन गरेर लुकाएको एउटा पोका झिक्यो उसले । बुढीको होस हरायो । मनमा व्यथा पलायो । आँखामा आँसु उम्रियो । त्यसपछि ऊ अत्तालिएर कराउन थाली ।

“मोराहरू मलाई कात्रो किन्न पनि दिँदैनौ तिमेरु ?”

बुढीको स्वरमा पराजय छ । लाचारी पनि उत्तिक्कै छ । निरीहता त झन् कति छ कति । उसको मनको आकाशमा अघिसम्म उडिरहेको पुच्छ्रे चंगा चेट भयो । 

पुलिसले पोकोभित्रबाट एउटा ग्यालिन झिक्छ । रक्सीले भरिएको पाँच लिटरको ग्यालिन । पुलिसले ग्यालिन बस बाहिर ल्याउँछ । बिर्को खोल्छ । ग्यालिनभित्रको रक्सी बाटोमै पोखिदिन्छ । रक्सीसँगै बुढीको सपना पनि बाटाभरि पोखिन्छ । बुढी उपायहीन भएर बसबाट ओर्लन्छे । बसभित्रका बुहारी र नातिनीतिर उसले हेरेकी पनि छैन । उसले बुढासुब्बा सम्झेर प्रार्थना गरी- “तिनीहरूलाई पुलिसले नभेटोस् ।”

बुढासुब्बा निकै किलोमिटर टाढा थियो । त्यहाँसम्म बुढीको प्रार्थना पुगेन । 

पुलिस फेरि बसभित्र पस्यो । खलासीले केही संकेत गर्‍यो । पुलिस खलासीको संकेत पच्छ्याउँदै बुहारीनेर पुग्यो । उसैगरी बुहारीको सिटमुनिबाट पनि झोला तान्यो  । त्यो झोलाभित्र पनि ग्यालिन छ । रक्सीले भरिएको पाँच लिटरको ग्यालिन । बुहारीका आँखाभित्र निरीहता तैरिन्छ । त्यही निरीहता पानीमा परिणत हुन्छ र आँसु भएर पोखिन्छ । 

“आजलाई छाडिदेऊ, भोलिदेखि म यो काम गर्दिनँ ।” 

तर पुलिसले उसको याचना सुन्दैन । उसरी नै सडकमा ग्यालिनबाट रक्सी पोखिन्छ । रक्सीसँगै बुहारीका सपनाहरू पोखिन्छन् । रक्सीको गन्धसँगै उसका जीवनका अर्थहरू पनि उडेर जान्छन् । मनको आकाशमा उडिरहेको पुच्छ्रे चंगा चुँडिन्छ र बेसहारा भएर आकाशमै बत्तिन्छ ।

त्यो चंगा कहाँ खस्छ ? बसभित्र कसैलाई थाहा छैन ।  

बुहारी निरीह र उपायहीन बन्दै बसबाट ओर्लन्छे । ऊ अब सासूकै छेउमै आएर उभिन्छे । दुवै एकअर्कालाई नहेरेर रोइरहन्छन् ।

०००

सीता निरीह भएर सम्पूर्ण दृश्यहरू हेरिरहेकी छ । तर केही नदेखेझैँ गरिरहेकी छे । यसरी उसले पुलिसलाई झुक्याउन खोजेकी छे । त्यसैले हजुरआमा र आमाको पीडामा उसले यतिखेर कुनै पनि प्रतिक्रिया जनाउन सकिरहेकी छैन । तर यतिबेला हरेक क्षण उसका लागि असहनीय बनिरहेको छ । 

भावना र पीडाको द्वन्द्वमा अल्झिरहेकै बेला पुलिस ठिंग उसको अगाडि उभिन आइपुग्यो । 

उसले सिटमुनि लुकाएर राखेको पाँच लिटरको ग्यालिन पनि अब जोगिएन । ऊ एकै पटक छाँगाबाट खसेजस्ती भई । सारा सपना र भावनाका मादकताहरूलाई बिर्सेर ऊ बस नै थर्कने गरी रुन थाली । उसको मनको आकाशमा उडिरहेको पुच्छ्रे चंगा पनि उसरी नै चेट भयो । त्यसपछि ऊ पनि रुन थाली ।

उसको रुवाइमा स्थितिसित पराजित भएको र सपनाहरू डढेको पीडाका ध्वनिहरू पनि मिसिएका थिए । अब उ विराटनगर पुग्न सक्दिन । अब उ बसपार्कमा कुरिरहेको आफ्नो राजकुमारलाई भेट्न सक्दिन । उसलाई किनकिन आमा र हजुरआमालाई त्यो स्थितिमा छाडेर सुटुक्क भाग्ने आँटै आएन ।

दुई छाक पेटभरि खाने इतिहास बनाउने कत्रो रहर उसको । आज एकपटक इतिहास बनाउने त्यो अवसर फेरि गुमाइ उसले ।

बस तीनै जनालाई बेसहारा छाडेर बेसोमती पाराले अगाडि बढ्छ । सासू, बुहारी र नातिनी तीनै पुस्ता रित्तो ग्यालिन भएर बाटा छेउमा उभिएका छन् । तिनीहरूका सपना जस्तै छताछुल्ल पोखिएको रक्सीको बाफ माथिमाथि उडिरहेछ । 

०००

देशमा भर्खर प्रजातन्त्र आएको छ । त्यसैले आकाशमा कति जोर पुच्छ्रे चंगाहरू चेट भएका छन् । कसले हेर्ने ? कसले हिसाब गर्ने ? कसलाई फुर्सद यहाँ ? 


कस्तो लाग्यो ?

यो पनि