मध्यरात ।
मध्यरातको सडक ।
र म मध्यरातमा यस सडकमा हिँडिरहेको मान्छे ।
मसित थोत्रो मोटरसाइकलरूपी एउटा वाहन छ यतिखेर । त्यसैले हिँड्नु भन्ने क्रिया माथि उल्लिखित वाक्यमा अलिक ठीक हुँदैन कि ? पख्नोस्, म यसलाई ठीक पारिदिन्छु । र म मध्यरातमा यस सडकमा गुडिरहेको मान्छे ।
अलिअलि नशामा छु ।
मान, सम्मान र प्रतिष्ठाको नशा ।
धन, सम्पत्ति र ऐश्वर्यको नशा
बुद्धि, विवेक र ज्ञानको नशा
सम्पर्क, पहुँच र रिलेसन को नशा ।
र यिनमा थप स्वयं नशा कै नशा ।
नशामा हुँदा म स्पिडमा हाँक्दिनँ । अहिले पनि स्पिडमा छैन । सानेपाबाट कुपन्डोल, कुपन्डोल हुँदै थापाथलीनेर पुग्दै छु । सडक सम्पूर्ण सुनसान छ । कुकुरहरू पनि थाकेर भुक्न छाडेका छन् । अँध्यारोलाई छिचोल्दै बलिरहेका ल्याम्पपोस्टहरूको उज्यालो पनि स्वादिलो छैन । सिमेन्टका घरहरू दायाँबायाँ शानसित उभिएका छन् । तर तिनले पनि हल्ला गरेका छैनन् । त्यसैले वातावरणमा बलियो निःस्तब्धता कायम छ । मनभित्र रहस्य, रोमान्स र त्रास जन्माउनका लागि मध्यरात्रीय यी तमाम विशेषताहरू हाललाई पर्याप्त छन् ।
उनी मेरो उत्तरबाट सन्तुष्ट भइनन् क्यार । भन्न पो थालिन्- ‘हाम्रो समाज निरन्तर पतनको खाल्टोतिर भासिँदै छ । प्रत्येक मान्छेभित्र अचेल भय, असुरक्षा र कुण्ठाजस्ता भावनाहरू हुर्कँदै छन् । यस्तो भावनाले कुनै न कुनैबेला हिंसाको रूप धारण गर्नेछ ।'
ठीक यतिखेरै र यस्तैमा म रात्रि भोजमा अघि भरखर भएको एउटा महत्त्वपूर्ण कुराकानी सम्झन पुग्छु । सम्पूर्ण कुराकानीको केन्द्र थियो किचकन्नी । अर्थात् महिला भूतहरू । सबै भन्दै थिए- 'कहिलेकाहीँ मध्यरातमा किचकन्नीहरू लिफ्ट पर्खिरहेका हुन्छन् ।'
मेरो मुटु बेलुनझैँ फुल्यो ।
यताउता हेरेँ । कसैलाई देखिनँ । आफू त्यस्ता सम्भावित खतराबाट अझै जोगिएको छु भन्ने विचारशृंखलाको निर्माण गर्न थालेँ, मनभित्रै । मन न हो, हामी यसभित्र मनलागी गर्न सक्छौँ । यसलाई घोडा बनाएर बेलगाम दौडाउन सक्छौँ । मनको घोडा रकेट भन्दा छिटो दौडन्छ ।
तर तत्क्षण म आफ्नो मूर्खतामा मनमनै हाँसे । अचेलको जमानामा भूतमाथि विश्वास ? मूर्खताका लागि यही प्रश्न पर्याप्त थियो । धन्न यो प्रश्न मलाई अरू कसैले गरेको थिएन । मनले मनसितै गरेको थियो । त्यसैले उतिसारो बेइज्जत भएन ।
मैले आफूलाई सहज बनाउन खोजेँ । बाइकको स्पिड पनि सहज राखेँ । वरिपरिको वातावरणमा पनि सहजताको अनुभूति खोज्दै बगिरहेँ ।
०००
पुल नाघेपछि थापाथलीको सीमाभित्र मेरो प्रवेश भयो । रामभन्डार अगाडिको फुटपाथमा एक सुन्दरी उभिएकी थिइन् । उनको अनुहारभरि अत्यासको भाव छताछुल्ल पोतिएको थियो । म भने यतिन्जेल भूतभयबाट पुरै मुक्त भइसकेको थिएँ ।
'ए दाइ, ए दाइ !' मलाई देखेर उनले शब्दोच्चारण गरिन् । हात पनि हल्लाइन् ।
मध्यरात । मृदु वचन । र महिला ।
मैले ब्रेक लगाएँ ।
उनी मनेर आइन् । म मुग्ध भएँ । स्त्री बास्नाले मन प्रफुल्लित भयो । मनभित्र मौसमी र बेमौसमी सबैथरिका फूलहरू ढकमक्कै फुले । मन बोटानिकल गार्डेन भन्दा कम्ता भएन ।
उनी भन्न थालिन्- 'तपाईँ जस्ता व्यक्तिहरूले समाजलाई डोर्याउनुपर्छ । समाजलाई यसको स्वाभाविक दिशातिर लैजानुपर्छ । यो समाजलाई तपाईँहरूको जागरूकताको खाँचो छ ।’ म महिलाको नीति वाक्यभन्दा उनको शरीरलाई अनुभव गर्दै थिएँ । मलाई उनको शरीरमै आनन्द आइरहेको थियो ।
‘हेर्नुस् न दाइ, म त अलपत्र परेँ ।’
मैले मौन सहानुभूति प्रकट गरेँ । भय सबै कहाँ रित्तिएको थियो र ? सायद केही कसर अझै बाँकी थियो । त्यसैले मैले विश्वस्त हुन उनका पाइतालातिर हेरेँ । उनका पाइताला साबुत थिए । उल्टा थिएनन् । सम्पूर्णतः आश्वस्त भएँ म ।
‘यहाँको शुभनाम ?’ रात्रीभोजको अन्त्यमा ताजाताजा रसभरी खाएकोले मेरो बोलीमा यति बेला मिठास थियो ।
‘नैतिकता ।’ उनले जवाफ दिइन् । के उनले पनि भर्खर ताजाताजा रसभरी खाएकी थिइन् ? नत्र कसरी यति मीठो स्वर उनको ?
वास्तवमा उनको नाम सुन्दर थियो । अति सुन्दर । युनिक । अरूभन्दा सर्वथा पृथक् । यो नामबाटै यी महिलाको नामकरण गर्ने यिनका मातापिताको भाषासाहित्यप्रतिको अभिरुचि प्रकट हुन्थ्यो । (के ती त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा कार्यरत छन् ?)
'हेर्नुस् न, साथीकोमा गएकी, फर्कँदा अबेर भयो । बाटामा त ट्याक्सी पाउँला नि भनेर साथीकहाँबाट निस्केँ । तर... ।’
बाँकी कुरा स्पष्ट थियो । उनले ट्याक्सी पाइनन् । लिफ्टको प्रतीक्षामा बस्दाबस्दै रात पर्यो । रात गाढा हुँदाहुँदै मध्यरात भयो ।
'तपाईँ कहाँ जाँदै हुनुहुन्छ ?' उनले सोधिन् । यद्यपि यो त प्रश्न मैले पो सोध्नुपर्ने थियो उनलाई ।
उनको सुन्दरता र मीठो बोलीले लाटो बनाएकोले मैले लामो उत्तर दिनै सकिनँ । छोटोमा जवाफ दिएँ ।
'चाबेल'
‘त्यसो भए बाटो एउटै पर्यो । मलाई सिफलमा छाडिदिनुहोला । मेरो घर तीँ छ ।’
मलाई आपत्ति हुने कुरै थिएन । मैले उनको याचना स्वीकार गरेँ र उनलाई आफ्नो वाहनमा सहर्ष स्थान दिएँ । उनी बसिन् । उनको बसाइबाटै थाहा भयो, उनको शरीर कपासझैँ हलुको छ । उनले आफ्नो कपासझैँ हलुका हातले मेरो कम्मरलाई च्याप्प बेरिन् । उनको यो समात्नु गतिसन्तुलनका लागि आवश्यक थियो । तर त्यस स्पर्शबाट म झन् रोमाञ्चित भएँ ।
मोटरसाइकल सहज रूपमा सिंहदरबारतिर दौडँदै थियो र म चाहिँ स्त्रीसान्निध्यले उड्दै थिएँ । चङ्गाझैँ ।
'यति राति कताबाट ?' उनले मसित प्रश्न गरिन् । प्रश्न सोधेर ठीक गरिन् उनले । म पनि हामीबीच वार्तालाप सुरु होस् भन्ने नै चाहन्थेँ । मैले रत्तिभर पनि नढाँटी आफू एउटा विशिष्ट रात्रीभोजबाट फर्किएको जानकारी दिएँ उनलाई ।
‘वास्तवमा तपाईँजस्तो सभ्य, सुसंस्कृत र भलादमी मान्छे यस्ता रात्रीभोजहरूमा सहभागी हुनु हुँदैन ।’
थाहा थिएन, उनी कुन अधिकारले मसित यस्तो कुरा गर्दै थिइन् ।
‘अनैतिक, अभद्र र अशिष्ट व्यक्तिहरूको सम्पर्कले नैतिक, भद्र र शिष्ट व्यक्तित्वको अन्तर्मनलाई पनि दूषित पारिदिन्छ ।’
मलाई लाग्न थाल्यो उनी कुनै नीतिवाक्य फलाकिरहेकी छन् । यो क्रम निकैबेर चलिरह्यो ।
‘तपाईँको यस समाजप्रति कस्तो धारण छ ?’
म उनको यस्तो अप्रत्याशित प्रश्न सुनेर अलमलमा परेँ ।
जिन्दगीको कुनै मोडमा, घुम्तीमा, सिंहदरबारनेर मध्यरातमा यस्तो जटिल प्रश्नसित जुध्नुपर्ला भन्ने मैले सोचेको पनि थिइनँ ।
मैले टुटेफुटेका वाक्यहरू गाँसगुँस पारेर केही उत्तर त दिएँ । तर के दिएँ, मलाई नै थाहा भएन ।
उनी मेरो उत्तरबाट सन्तुष्ट भइनन् क्यार । भन्न पो थालिन्- ‘हाम्रो समाज निरन्तर पतनको खाल्टोतिर भासिँदै छ । प्रत्येक मान्छेभित्र अचेल भय, असुरक्षा र कुण्ठाजस्ता भावनाहरू हुर्कँदै छन् । यस्तो भावनाले कुनै न कुनैबेला हिंसाको रूप धारण गर्नेछ ।'
'म के गरूँ त महोदया !' मैले मनमनै सोधेँ । लौ, उनले त मेरो प्रश्न सुनेजस्तै पो गरिन् । भन्न थालिन्- 'तपाईँ जस्ता व्यक्तिहरूले समाजलाई डोर्याउनुपर्छ । समाजलाई यसको स्वाभाविक दिशातिर लैजानुपर्छ । यो समाजलाई तपाईँहरूको जागरूकताको खाँचो छ ।’
म महिलाको नीति वाक्यभन्दा उनको शरीरलाई अनुभव गर्दै थिएँ । मलाई उनको शरीरमै आनन्द आइरहेको थियो ।
तर उनी मानौँ कुनै विचारक हुन् । त्यसरी नै र त्यही मुडमा भन्दै थिइन्- 'म चाहन्छु, यस समाजबाट अनैतिकता, अत्याचार जस्ता कुराहरू हटुन् र सर्वत्र शान्ति छाओस् ।'
बाइगड, मलाई युवतीको कुराप्रति कुनै रुचि थिएन । म यतिखेर यस्ता गह्रुङ्गा र जटिल कुराहरू सुन्ने मनस्थितिमै थिइनँ । त्यो पनि एउटी स्त्रीबाट । स्त्रीलाई मायालु भएकै सुहाउँछ । स्त्रीले त मायाकै कुरा गरेको सुहाउँछ ।
त्यसैले म चाहन्थेँ उनी केही हल्काफुल्का र सकेसम्म रोमान्टिक कुराकानी गरुन् । उनले मेरो मनोभाव बुझिन् सायद ।
‘तपाईँलाई बोर गरेँ क्यार तर के गर्नु, म बाध्य छु ।’
त्यो बाध्यता के हो ? मैले सोधिनँ उनीसित ।
'म समाज र यसभित्रका मान्छेहरू निरन्तर गल्दै गएको देखिरहेकी छु । उनीहरू निरन्तर पराजित हुँदै गएको देखिरहेकी छु । अनि क्रमशः सबैलाई अनैतिकताको भासमा पुरिँदै गएको देखिरहेकी छु । अनि म रुन्छु, दिनरात कल्पन्छु । प्लिज, तपाईँ केही गर्नुस् । केही सहयोगीहरू जम्मा गर्नुस् र... ।’
उनी बोल्दाबोल्दै सिफल आइपुग्यो ।
मैले स्पिड कम गरेँ र उनको कुरा काट्दै सोधेँ- 'तपाईँको घर कुन हो ?'
'उःद्रद्र त्यो ।' उनले एउटा घर देखाइन् र भनिन्- 'कहिलेकाहीँ आउनुस् न ।'
'हस् ।' मैले संक्षिप्त उत्तर दिएँ ।
‘मेरो नाम त बिर्सनुभएको छैन ?’
'त्यस्तो साहित्यिक नाम किन बिर्सन्थेँ ?' यहीँ जवाफ दिएँ मैले ।
'अहँ, तपाईँ बिर्सनुहुन्छ । खै, कलम छ ?'
मैले कलम तेर्स्याएँ । उनले मेरो हत्केलामा आफ्नो नाम लेखिदिइन् ।
त्यतिखेर मभित्रको रोमाञ्च चरममा पुग्यो । तर उनी एकपटक मुस्कुराएर र मलाईँ अभिवादन गरेर आफ्नो घरतिर लागिन् । मैले उनी घरभित्र नपुगुन्जेल हेरिरहेँ ।
उनले पनि फर्कीफर्की हेरिन् ।
घडी हेरेँ, साढे बाह्र बजेछ ।
म चाबेलतिर हानिएँ, ‘रोमाञ्च’सहित । म मुग्ध थिएँ । किनभने उनले मलाई आफ्नो घरमा बोलाएकी थिइन् । सायद उनी मसित प्रेमका कुरा गर्न चाहन्छिन् ।
०००
भोलिपल्ट बिहानै म उनको घर पुगेँ । थोत्रो र जर्जर घर । म छक्क परेँ । यहाँ त हिजो राति आकर्षक र साबुत घर देखेको थिएँ मैले । मध्यरात, दृष्टिभ्रम पनि हुन सक्छ । भत्कनै आँटेको एउटा ढोका मैले ढकढकयाएँ मैले ।
सेतै कपाल फुलेका एक जना वृद्धले ढोका खोले ।
मैले केही सोध्नै आँटेको थिएँ तर बुढाले बीचमै कुरा काटे ।
‘मलाई थाहा छ, तपाईँ नैतिकतालाई भेट्न आउनुभएको हो ।’
एकछिन मौनता । एकछिन निःस्तब्धता । एकछिन जिज्ञासा ।
‘तर’, बुढाले भने र भन्दाभन्दै रोकिए ।
'तर के ?' मैले सोधेँ ।
तर उसको त वर्षौअघि मृत्यु भैसकेको छ ।
मृत्यु ???
रिँगटा लाग्यो मलाई । सिङ्गै ब्रह्माण्ड घुम्न थाल्यो मेराअगाडि । आत्तिएँ म । मैले हठात् आँखा चिम्लेँ र उनलाई सम्झेँ । उनका प्रत्येक शब्दहरू, उनका प्रत्येक वाक्यहरू, उनका प्रत्येक चाहनाहरूलाई सम्झेँ ।
मेरो जीउ एक पटक थर्र काम्यो । मथिँगलमा भुईँचालो गयो । मेरो मनले मैसित प्रश्न गर्यो ।
'त्यसो भए हिजो राति मैले कसलाई भेटेँ ?’
तर मेरो यो प्रश्नको उत्तर दिन अब त्यहाँ बुढा पनि उपस्थित थिएनन् ।
फेरि मैले आँखा चिम्लेँ । निकै बेर चिम्लेँ ।
आँखा खोल्दा मैले आफूलाई एउटा एकान्त, सुनसान र निर्जन ठाउँमा पाएँ ।
मैले आफ्नो हत्केलामा हेरेँ ।
नैतिकता, अझै मेटिएको थिएन ।
तर मलाई थाहा छ यो एकदिन अवश्य मेटिन्छ ।
हत्केलामा लेखेको कति दिन टिक्छ र ?