कात्तिक १९, २०८१, सोमबार
               

रेडवाइन (कथा)

नयनराज पाण्डे
चैत ०७, २०७६

ADVERTISEMENT

'ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, ह्विस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग गर्नेछौँ ।'

'तर, हजुरले आज अलिकति हल्का लिई दिई बक्से हामी साह्रै खुसी हुने थियौँ । यो सानो पार्टी हजुरकै स्वागतमा आयोजित गरिएको हो । नो नो हजुर, यो पार्टी हामीले धेरै खर्च गरेकै छैनौँ । हजुरको भावना बुझ्छौँ । हजुरको स्पिरिट बुझ्छौँ । इन्फ्याक्ट, हामी हजुरकै आदर्श र सिद्धान्तका फलोअर हौँ । हामीले अलि एक्सपोज्ड भएर काम गर्न नमिलेर पो । नत्र त हामी हजुरहरूकै पदचिह्नलाई ...'

हजुरले वाइन खाइबक्सेको भनेर कसले भन्न सक्छ र ? हजुर, त्यो अघि ठेक्काको कुरा गरेको थिएँ नि । त्यो ठेक्का जगदम्बा कन्स्ट्रक्सनलाई पारौँ है ? अनि मेरो एउटा सालो छ हजुर, दुर्गममा छ । यतै सार्न पाए हुन्थ्यो ।'

'हजुर, वाइन त हल्का लिँदा हुन्छ नि । वाइन त रक्सीको क्याटेगोरीमा पर्दैन नि हजुर । वाइनमा अल्कोहल कति नै हुन्छ र ? नौ देखि एघार प्रतिशत । कुनैकुनैमा तेह्रसम्म हुन्छ । त्यति अल्कोहल त सुत्केरी आइमाईले खाने टनिकहरूमा पनि हुन्छ । वाइन त फलफूलबाट बनेको हो नि हजुर । एक-डेढ ग्लास त दिनदिनै खाँदा पनि फरक पर्दैन । स्वास्थ्यलाई बेफाइदा गर्दैन । यसले त एपेटाइजरको काम गर्छ । मुटुको रोगी हो हजुर ? केही फरक पर्दैन । रेड वाइन लिइबक्स्योस् न । रेड वाइन त मुटुको रोगीले पनि ढुक्कले खानु हुन्छ । डक्टरहरूले पनि खाए हुन्छ भन्छन् । फेरि हजुरलाई त अब देश, विदेश गइरहनुपर्छ । बेलाबेलामा स्वदेशी, विदेशी पाहुनाहरूसित भेटघाट गरिरहनुपर्छ । रात्रिभोजमा सवारी होइबक्सनुपर्छ । कहिलेकाहीँ रात्रिभोजको आयोजना पनि गर्नुपर्छ । कति ठाउँमा त कर्टेसी मेन्टेन गर्न पनि प्युनुपर्ने हुन्छ । यस्तोमा हजुरले अलिअलि हल्का रेड वाइन लिइबक्सँदा राम्रै हुन्छ । बानी पनि त पार्न पर्योर नि हजुर !'

'गन्ध आउँदैन हजुर, वाइनको पटक्कै गन्ध आउँदैन । स्वादिलो पनि हुन्छ । गुलियो-गुलियो, अमिलो-अमिलो त हो नि हजुर ! ल हुन्छ हजुर ! अलिकति मात्र लिइबक्स्योस् । ल, हजुर । चियर्स । हजुरको कार्यकाल सफल होस् । हजुरको कार्यकालमा क्रान्तिकारी परिवर्तन होस् ।'

'हजुरको अस्तिको लेख साह्रै गजबको । हामी सबैले पढ्यौँ हजुर ! हामीले त त्यो लेखको कटिङ पनि गरेर राखेका छौँ । हजुरको कान्तिपुरमा गत साता छापिएको भ्रष्टाचारसम्बन्धी आर्टिकल पनि साह्रै राम्रो । हामीले त्यो पनि कलेक्सन गरेर राखेका छौँ । हजुरको लेखनशैली साह्रै राम्रो । भाषा पनि कति मीठो । हजुरसित गजबको भिजन रहेछ । पहिलाकाहरूसित कहाँ यस्तो भिजन हुनु हजुर । नत्र त यो मुलुक कहाँको कहाँ पुगिसक्थ्यो । अँ साँच्ची, अस्तिको पुस्तक मेलामा हजुरको किताब कतिका बिक्री भएको । जसको हातमा पनि हजुरकै किताब । हामी सबैले त्यो किताब किनेका छौँ हजुर ! पचास-साठीजनालाई त मैले नै त्यो किताब नपढी हुन्न भनेर सिफारिस गरेको छु । साह्रै गजबको पुस्तक रहेछ । हजुरले त्यत्रा-त्यत्रा किताबहरू, लेखहरू लेख्ने फुर्सद कसरी निकालिबक्सन्छ ? राति लेखिबक्सन्छ कि बिहान ? मुडमा लेखिसिन्छ कि जस्तोसुकै परिस्थितिमा पनि लेखिबक्सन्छ ? हजुरको लेखन प्रक्रिया के हो ? ए ! हजुरको ग्लास त रित्तिएछ । अब एक ग्लास थपूँ हजुर ? यो ग्लासचाहिँ हाम्रो अनुरोधमा । वाइन त हो नि हजुर ! त्यसमाथि रेड वाइन । हल्का लिँदा केही बिगार गर्दैन हजुर !'

उहाँ सह-सचिव । अट्ठाईस वर्ष भयो सरकारी सेवामा संलग्न हुनुभएको । मभन्दा एक ब्याच जुनियर । उहाँ पनि हजुरको गजबको फ्यान । मजस्तै । उहाँ साह्रै योग्य व्यक्ति । परराष्ट्र सेवामा पनि हुनुहुन्थ्यो । साह्रै अध्ययनशील हुनुहुन्छ । दिउँसो हामीले त्यो बोर्डको बारेमा कुरा गरेका थियौँ नि हजुर ! त्यो बोर्डमा उहाँलाई नै चेयरम्यान बनाउँदा उपयुक्त हुन्छ । हजुरलाई उहाँबाट साह्रै कोअपरेसन हुनेछ । विरोधी पार्टीले विरोध गर्लान् । तर, हजुरले पेलेर भए पनि उहाँलाई चेयरम्यान बनाइबक्सनुपर्छ । यो त हजुरको इज्जत र प्रतिष्ठाको पनि कुरा हो नि हजुर ! हैन र ? ए ! हजुरको ग्लास त खालि भएछ । अब अलिकति । हाम्रो मनोबल उच्च पारिदिनका लागि । एक ग्लास । हल्का । केही फरक पर्दैन । वाइन त हो नि हजुर ! रेड वाइन ।'

हजुरले नै हैन जेलब्रेक गरिबक्सेको ? हजुर त साह्रै साहसी मान्छे । हजुरले युद्ध पनि लडिबक्सियो हगी ? अँ, हजुर गोली लागेर सख्त घाइते होइबक्सेको त हामीले पनि सुनेको हो हजुर । जे होस्, हजुरहरूले गर्दा नै देशमा यत्रो परिवर्तन आएको हो । हजुरहरूले सहयोग नगरेको भए त्यो गिरिजा र माकुनेले कहाँ गणतन्त्र ल्याउन सक्थे र हजुर ? हजुरहरूकै कारण नेपालमा गणतन्त्र सम्भव भएको हो । नत्र त हजुर ! आज पनि ज्ञानेन्द्रकै शासन हुन्थ्यो । पारससित त मेरो पनि एक पटक झगडा परेको नि हजुर । जे होस्, देशमा परिवर्तन आयो । अब राज्यको पुनःसंरचना हुनुपर्छ हजुर । समाज रूपान्तरण हुनुपर्छ । हजुरहरूले यो सबै गर्न सकिबक्सन्छ । जनताले हजुरबाट निकै ठुलो आशा राखेका छन् हजुर । हजुरहरू अघि बढिबक्स्योस् । हामी सहयोग गर्छौँ नि हजुर । हजुरहरू योजना बनाइबक्स्योस्, हामी कार्यान्वयन गर्छौँ । हजुरको अभियान र लडाइँमा हामी पनि सहयोद्धा भयौँ हजुर । बाचा भयो । हजुर, हल्का थपूँ ?'

'हो हजुर ! इन्डियासित झुक्नु हुन्न । निकै पेलिसक्यो । हामीले स्ट्यान्ड लिनै पर्छ । उसले जे-जे भन्यो, त्यै-त्यै मान्न हुन्न । हिजोमात्र दुई सय तीसवटा सीमा स्तम्भ उखेलेर लगेछ । हामीलाई रिपोर्ट आएको छ हजुर । यो इन्डियाले साह्रै हेप्यो । सीमा अतिक्रमण पनि अति नै भयो । हजुरहरूले यस विषयमा केही गर्नै पर्छ । जनताले हजुरहरूबाट धेरै अपेक्षा लिएका छन् । ए, ग्लास खस्यो । नो प्रब्लम हजुर । हैन-हैन, हजुरले किन ग्लास उठाइबक्सनुपर्यो ? हामी छौँ नि । अलिकति वाइन थपूँ है ? नयाँ ग्लासमा । हजुरलाई त फिटिक्क पनि छोएको छैन । बोली कति प्रस्ट छ हजुरको । हजुरले वाइन खाइबक्सेको भनेर कसले भन्न सक्छ र ? हजुर, त्यो अघि ठेक्काको कुरा गरेको थिएँ नि । त्यो ठेक्का जगदम्बा कन्स्ट्रक्सनलाई पारौँ है ? अनि मेरो एउटा सालो छ हजुर, दुर्गममा छ । यतै सार्न पाए हुन्थ्यो ।'

'के रे ? पन्ध्र ग्लास रे । कहाँ हुनु हजुर ? मैले त गनेको । पाँच ग्लास मात्र हो । फेरि यो विदेशी वाइन कहाँ लाग्छ र हजुर ? यो हल गुम्म परेकाले हजुरलाई रिँगटा लागेको होला । नो प्रब्लम हजुर । वाइनले सब ठिक पार्छ । रेड वाइन त स्वास्थ्यको लागि अति राम्रो नि हजुर । डा. भूषण उपाध्याय पनि सधैँ राति सुत्ने बेलामा दुई-चार ग्लास रेड वाइन खाएर सुत्नु हुन्छ ।'

हजुरलाई लागेकै छैन । अनुहार धपक्क बलेको छ । बोली कति प्रस्ट छ । हजुरको खुट्टा लर्बरिएको होइन । बरु भुईँचालोको झड्का हो कि ?

"हैन-हैन, वाइनमा कुनै प्रब्लम छैन हजुर । हजुरले स्न्याक्स केही लिइबक्सेन नि, त्यसैले हजुरको पेट मडारिएको मात्र हो । बान्ता हुन लागेको हैन हजुर । हजुरलाई लागेकै छैन । अनुहार धपक्क बलेको छ । बोली कति प्रस्ट छ । हजुरको खुट्टा लर्बरिएको होइन । बरु भुईँचालोको झड्का हो कि ? नेपाल भूकम्पको दृष्टिले अति संवेदनशील क्षेत्रमा पर्छ नि । त्यसैले हामीले थाहै नपाई स-साना झड्का भइरहन्छ हजुर । त्यै भएर हजुरको खुट्टा लर्बरिएको ।'

'हजुर नआत्तिबक्स्योस् । हामी छौँ नि । हामी हजुरको साथ छाड्दैनौँ । हजुरलाई पूर्ण सहयोग गर्छौँ । हजुरको आदर्श, निष्ठा र सिद्धान्तमा आघात पुग्न दिन्नौँ । अँ, यो सरुवाको फाइल । यो रातोचाहिँ बढुवाको । यो टेन्डरको । यो चैँ भुक्तानीको । हुन्छ हजुर, यहीँ फाइल सदर गर्दिबक्से हुन्छ हजुर । आहा, हजुरको ह्यान्ड राइटिङ कति राम्रो । सिग्नेचर पनि साह्रै राम्रो । अब अलिकति हल्का थपूँ है हजुर ? रेड वाइन त हो नि । रातो वाइन । हजुरको प्रिय रङको वाइन ।'

'नो प्रब्लम हजुर । यहाँ अरू कोही छैन । हामी-हामी मात्र हो । हैन-हैन, त्यहाँ नबसिस्योस् । त्यो कुर्सी होइन, त्यो त कमोड हो हजुर । बान्ता त्यहीँ वासबेसिनमा गरिबक्से हुन्छ । नआत्तिबक्स्योस् । वाइनले खराबी गर्दैन । अलिकति अपच भएछ हजुरलाई ।'

'ला, हजुर त लडिबक्सेछ । नो प्रब्लम । हामी छौँ नि । ए, फुस्क्यो ? खै-खै हजुर, म इजार लगाइदिन्छु ।'

'के रे ? हजुरले ह्विस्की खाने ? हुन्छ हजुर । केही फरक पर्दैन । विदेशी रक्सीले केही खराबी गर्दैन । फेरि हामी सबै ब्युरोक्रेट्स हजुरकै अनन्य सहयोगी हौँ । हामीसित अप्ठ्यारो मान्नै पर्दैन ।'

'वेटर, मन्त्रीज्यूलाई एक पेग ब्लू लेबल । छिट्टो । रत्नजी, छिट्टो खोज्नोस् त । मन्त्रीज्यूको जुत्ता । यतै कतै होला ।'

'के रे ??? मन्त्रीज्यूको हरायो ???... होस कि जुत्ता ????????'

पाण्डे चर्चित नेपाली साहित्यकार हुन् । उनी नेपाली कथाकार, चलचित्रमा पटकथा लेखक तथा समकालीन परिस्थितिलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्ने गर्दछन् । उलार, लू, घामकिरी र सल्लीपिर उनका चर्चित उपन्यास हुन् ।

कस्तो लाग्यो ?

यो पनि