बैशाख १३, २०८१, बिहीबार
               

'राजावादी र हिन्दुवादीलाई एकै ठाउँमा ल्याउँछौ'

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

पछिल्लो समयमा देखिएको विवादलाई किनारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो आकार र आयतन बढाउने जमर्को गरेको छ । देशभर असंगठित रूपमा रहेका राजावादी र हिन्दुवादीहरूलाई समेटेर अघि बढ्न उसले वार्ता समिति गठन गरेको छ । त्यसको नेतृत्व राप्रपा नेता एवं पूर्वमन्त्री बुद्धिमान तामाङलाई दिइएको छ । वार्ता समिति किन र यसले के गर्छ ? भन्ने विषयमा राप्रपा नेता तामाङसँग गरिएको वार्ताको सम्पादित अंश ।

राप्रपाले समान विचारधारा भएका समूह तथा व्यक्तिहरूसँग वार्ताको जिम्मेवारी तपाईँको नेतृत्वको समितिलाई दिएको छ । के छ अबको योजना ?

मुलुक अभिभावकविहीन भएको महसुस सबैले गरेका छन् । पहिचान गुमेको अवस्था छ । यस्तो अवस्थामा व्यक्तिभन्दा माथि उठ्नु पर्छ भन्ने चेतना हामी सबैमा जागृत भएको छ । 

देशभित्र राप्रपाले लिएको नीति सही छ भन्ने प्रमाणित हुँदै गएको छ । हामीले राजसंस्था पुनर्स्थापनालाई मुख्य मुद्दा बनाएका छौँ । देशभर यो मुद्दाको पक्षमा वातावरण बनेको छ । सँगसँगै नेपाल धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र होस् भन्ने चाहना सबैतिर उठेको छ । प्रमुख राजनीतिक दलहरूमा पनि त्यो मुद्दा प्रवेश गरेको छ । नेपाली कांग्रेसको गएको महाधिवेशनमा त्यो मुद्दा उठेको थियो । कांग्रेसको आगामी महाधिवेशनमा पनि यो मुद्दाले प्रवेश र प्राथमिकता पाउने निश्चित छ । अब त सत्तासीन नेकपा एमालेभित्रै यो मुद्दाले प्रवेश पाइसकेको छ । यो अवस्थामा मुलुकभित्र धेरै समूह तथा व्यक्तिहरूले राजसंस्था र धार्मिक स्वतन्त्रासहितको हिन्दु राष्ट्रको पक्षमा आवाज उठाइरहेका छन् ।त्यसैगरी मुलुकमा संघीयता बोझिलो भएको छ । हामीले संघीयता खारेजी र सुदृढ स्थानीय सरकारलाई अर्को मुख्य एजेन्डा बनाएका छौँ । हाम्रो यो एजेन्डाको पक्षमा पनि देशभर वातावरण बनेको छ । विचार मिल्ने भएपछि किन अलगअलग रहने भनेर हामीले सबैलाई एकीकृत गर्ने प्रयास गरेका हौँ । पार्टीले त्यसको जिम्मेवारी मसहितको समितिलाई दिएको छ । अब हामी वार्ता गर्छौँ । छरिएर बसेका राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादीहरूलाई हामी एकै ठाउँमा ल्याउँछौँ । अहिले त्यसैको प्रयासमा छौँ ।

तपाईँहरूको प्रयासले सार्थकता पाउँला त ?

समिति भर्खरै गठन भएको छ । कुन परिमाण र मात्रामा सफलता हात पर्छ भन्ने त भविष्यमै थाहा होला । तर सार्थकता भने पाउने छौँ । किनकि राजनीतिमा एजेन्डा नै प्रधान हुन्छ । मुख्य विषय नै विचार र सिद्धान्त हो । त्यसैले एजेन्डा मिलेपछि अरू कुरा मिलाउन समस्या हुँदैन ।

नेपालमा त एजेन्डाभन्दा पनि शक्ति वा पद बाँडफाँटमा नै प्रमुख चुनौती देखिन्छ नि ?

आम रूपमा हेर्दा त्यो सही पनि होला । तर मुख्य कुरा चाहिँ मुद्दा हो । विचार र सिद्धान्त नै प्रमुख हो । विचार समान भएपछि सबैलाई एकाकार हुन धेरै जटिल हुँदैन । अन्य व्यवस्थापनका मुद्दा त गौण र सामान्य हुन् ।

त्यसो भए पद र प्रतिष्ठाले रोकावट हुँदैन त ?

एजेन्डाभन्दा ठूलो अरू विषय होइन र हुन सक्दैन । हामीले समान विचारधारा भएका समूह र व्यक्तिहरूलाई एउटै छातामुनि ल्याउने हो । त्यसका लागि पद गौण कुरा हो । यतिबेला देश गम्भीर संकटमा छ । मुलुक अभिभावकविहीन भएको महसुस सबैले गरेका छन् । पहिचान गुमेको अवस्था छ । यस्तो अवस्थामा व्यक्तिभन्दा माथि उठ्नु पर्छ भन्ने चेतना सबैमा जागृत भएको छ । 

तपाईँकै दलभित्र नेताहरू नमिलिरहेको अवस्थामा अरू व्यक्ति र समूह कसरी आकर्षित हुन्छन् त ?

हाम्रो दलमा तपाईँले भनेजस्तो विवाद छैन । पार्टी सञ्चालनमा र कुनै विशेष मुद्दालाई हेर्ने सवालमा सबैको समान विचार हुनुपर्छ भन्ने छैन । सानातिना मुद्दालाई हेर्ने दृष्टिकोण फरक हुन्छ नै । मूल मुद्दामा भने फरक दृष्टिकोण हुनु हुँदैन । अरू दलमा पनि राष्ट्रिय राजनीतिमा उठ्ने मुद्दाहरू फरकफरक दृष्टिकोण देखिने गरेका छन् । त्यसमा हाम्रो पार्टी पनि अपवाद नहोला । तर अरू दलमा भन्दा हाम्रो दलमा शीर्ष नेताहरूको साझा दृष्टिकोण बन्ने गरेको छ । कतिपय विषयमा फरकफरक मत हुनु स्वाभाविक पनि हुन्छ । यसले आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धालाई बलियो बनाउँछ । तर मूल मुद्दामा एकमत हुनुपर्छ । पार्टीले लिएको राजमार्गबाट दाँयाबाँया हुनु हुँदैन । मैले हाम्रोमा सबै ठीक छ भन्न खोजेको पनि होइन । तर नेताहरू एकताबद्ध भएर पार्टीलाई नयाँ गतिमा लैजान प्रतिबद्ध हुनुहुन्छ । मुख्य कुरा एजेन्डामा कुनै मतभेद छैन भनेर उहाँहरूले भनिसक्नु भएको छ । त्यसैले हामीभित्र त्यस्तो समस्या छैन ।

कार्ययोजना के छ त वार्ता समितिको ?

भर्खर समिति गठन भएको छ । अब हाम्रो समितिले त्यस्ता समूह तथा व्यक्तिहरूको अभिलेख निकालेर संवाद गर्ने छ । यसबारे विस्तृत गृहकार्य गर्न बाँकी नै छ । केही दिनभित्रै हाम्रो कार्ययोजना बनाउँदै छौँ ।

यो पनि