चैत १६, २०८०, शुक्रबार
               

एमाले ध्वस्त हुनेवाला छ : झलनाथ खनाल

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

नेकपा एमाले आन्तरिक किचलो बढ्दै जाँदा फुटको सँघारमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय सांसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेपछि कुनै जादु नभए एमाले विभाजन हुने निश्चित जस्तै छ । 

यद्यपी वरिष्ठ नेता झलनाथ खनाल भने ‘पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने’ दाबी गर्छन् । आफूहरू पार्टी एकताकै पक्षमा रहेकाले फुटको कल्पना पनि गर्न नसक्ने उनले तर्क छ । उनै नेता खनालसँग हामीले पार्टीमा देखिएका समस्या र भावी रणनीतिका विषयमा केही जिज्ञासा राखेका छौँ ।

एमाले विभाजन हुन्छ की एक जुट भएर अघि बढ्छ ? 

हामी एमाले विभाजन गर्ने पक्षमा छैनौँ । पार्टीको सिद्धान्त, लक्ष्य, कार्यदिशाअनुसार अघि पुनर्गठन र एकताबद्ध गर्ने पक्षमा छौँ । नवौँ महाधिवेशनपछि जुन नेतृत्व आयो, सो नेतृत्वले नीति नियम अनुसार नचलेकाले समस्या आएको हो ।  नेतृत्व दक्षिणपन्थी अवसरवादी र भड्काउतिर गएको छ । यसले पार्टी विभाजन गर्ने, अनुशासनहीन काममा स्वयम नेतृत्व लागिरहेको छ । तर हामी सकेसम्म पार्टी एकताबद्ध बनाउने कोसिस गरिरहेका छौँ ।

यहाँले पार्टी एकताबद्ध बनाउने प्रयास जारी रहेको भने पनि पार्टी एक हुन्छ भन्ने त न पार्टी नेता कार्यकर्तालाई लाग्छ । न त जनतालाई लाग्छ ? 

ताली बनेको दुई वटा हातले मात्र बज्छ । अहिले पार्टीमा दुई खालका समूहहरू प्रकट भएका छन् । अलग अलग बिचारहरू देखिन्छ । एउटा दक्षिणपन्थी अवसरवादी नेतृत्व र अर्को त्यस विरुद्ध निरन्तर सङ्घर्ष गरिरहेको क्रान्तिकारी कार्यकर्ताहरूको पङति छ । यी दुई वटाको बीचको अन्तरविरोध र अन्तरसंघर्ष हो । यदि पार्टी नेतृत्वले आफ्ना गल्ती सच्चाएर आत्मालोचना गर्छ भने हामी माफी दिन तयार छौँ । 

तपाईँहरू छलफलमै जानुहुन्न । पार्टी अध्यक्षले बोलाएको बैठकहरू बहिस्कार गर्दै आउनुभएको छ । यसले त पार्टी फुटको दिशातिर पो गयो त ?

हामी अहिले पनि नवौँ महाधिवेशनले पारित गरेको नीति कार्यक्रम विधान पालनाको पक्षमा छौँ । सोही अनुसार हाम्रो पार्टी एमालेको पूर्ण बैठक २०७५ जेठ २ गते बसेको थियो । त्यतिबेला २ सय ३ जना केन्द्रीय कमिटी सदस्य रहेका थियौँ । अहिले पनि बैठक बस्ने हो भने त्यही संरचनाको बैठक बोलाउनुपर्छ । त्यो बोलाएमा हामी जान्छौँ, अन्यथा हामी जान्दैनौँ । त्यसयता गरिएका सबै निर्णय बदर गर्नुपर्छ । 

समस्या मतभेद हो की मनभेद हो ? एक अर्काको अस्तित्व स्वीकार गर्न नसकेकै कारणले विवाद भइरहेको त छैन ? 

नवौँ महाधिवेशनले पारित गरेको विधिलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ठाडै उल्लङ्घन गरेर आफ्ना निजी विचारहरू लागू गर्ने काम गरिरहेका छन् । उहाँको दक्षिणपन्थी अवसरवादी विचारहरू लाद्न खोज्दा विवाद भएको हो । दक्षिणपन्थी अवसरवादी विचारहरू उहाँका केही साथीहरूले माने पनि हामी क्रान्तिकारी पक्षले मान्नेवाला छैनौँ । समस्याको जड यही हो । मेरो गोरूको बाह्रै टक्का, म जे भन्छु त्यही हुन्छ, बालुवाटारमा जे गरिन्छ, त्यो स्विकार्नुपर्छ’ भनेर एकतर्फी निरंकुशतर्फले गएमा एमाले ध्वस्त हुनेवाला छ ।

हिजो मात्र यहाँहरूसहित धेरै साथीहरूलाई स्पष्टीकरण सोधिएको छ । अझै थप कारबाही गरिँदै छ भन्ने सुनिँदै छ । यसले समस्यामाथि झन् समस्या थप्छ भन्ने हो ?

समस्या समाधानको लागि हामीले पटक–पटक प्रस्ताव गरेका छौँ । कसरी सम्हालेर  लैजान सकिन्छ त्यो सुझाव दिएका छौँ । राष्ट्रपति विद्यादेवी भण्डारी केही दिनअघि मेरै घरमा आउनुभयो । उहाँमार्फत पनि मैले सुझाव पठाएको छु । तर सुझाव पालना गर्नु र जवाफ दिनु त कता हो कता ओलीले उल्टै अनुशासनको डन्डा देखाउनुभयो ।  न डन्डा  देखाएर देश चल्छ, न त डन्डा देखाएर पार्टी चल्छ ।

कर्णाली प्रदेशको घटनाको सन्देश के हो ?

कर्णाली प्रदेशको घटना दुखत् हो । नेतृत्वको दमनकारी कार्यशैलीप्रति निराश भएर कार्यकर्ताहरूले विद्रोह गरेका हुन् । व्यक्तिगत निर्णयका आधारमा भएका कुरालाई केन्द्रीय नेतालाई जोड्न हुँदैन ।

तपाईँहरूले नै सांसदहरूलाई फ्लोर क्रस गर्न निर्देशन दिएको भनेर सांसदहरुले नै भनेका छन् नि ? पार्टी विभाजन गर्ने क्रममा अग्रपङ्तिमा त तपाईँहरू देखिनुभयो नि । 

त्यो गलत कुरा हो । त्यो कार्यकर्ताहरूको स्वतःस्फूर्त विद्रोह हो । अरू प्रदेशमा र केन्द्रमा समेत त्यो विद्रोह नफैलोस् भनेर नेतृत्वले समाधानको लागि पहल गर्नुपर्छ । तर ओलीलालाई बनको बाघले खाओस् की नखाओस् , मनको बाघले खाएको कारणले संसद बैठक हठत अन्त्य गर्नुभयो ।

फेरि उहाँले अहिले यहाँले दुईतिहाई बहुमतसहितको आफ्नो गठबन्धन छिन्नभिन्न पारेर विभिन्न पार्टीसँग गठबन्धन गर्दै हत्याआतंकका मुद्धाहरू फिर्ता गरिरहनुभएको  छ । यो लोकतन्त्र र कानूनविरोधी हो । हामी अहिले पनि आग्रह गछौं, वामपन्थीसँग वार्ता गर्नुपर्याे, बामपन्थीहरूबीचमा एकता गर्नुपर्छ ।

यहाँहरू २७ जना संघीय सांसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागिएको छ ? अब निरीह भएर कारबाही भोग्ने की नयाँ पार्टी गठन गर्ने ? के छ रणनीति ?

हामी ७२ वर्षदेखिको पार्टी बचाउने पक्षमै छौँ । हामी सिद्धान्त, नीतिको पक्षमा नै लडिरहनेछौं । अध्यक्ष ओलीले गरेको कारबाहीविरुद्ध अदालत जानेछौँ । 

यो पनि