बैशाख ०७, २०८१, शुक्रबार
               

'राजनीतिक खेलमा प्रधानमन्त्री ओली माहिर !'

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला महाधिवेशनको तयारीमा छ । आगामी वैशाखमा महाधिवेशन गर्ने भनिए पनि मिति भने तोकिएको छैन । तल्लो तहको अधिवेशन जारी छ । पटकपटक फुटको सिकार भएको राप्रपा एकजुट भएर महाधिवेशनमा होमिँदै छ । उसले आफ्नो ठोस आकार बनाउने प्रयत्न गरिरहेको छ । तर यतिबेला मुलुकको राष्ट्रिय राजनीति तरल छ । देश सम्भावित मध्यावधितर्फ होमिने संकेत देखिँदै छ । तर कसले र कहिले निर्वाचन गराउला भन्ने अवस्था छैन । नेपालको आन्तरिक राजनीतिमा विदेशीको चासो र हस्तक्षेप बढ्दो छ । प्रस्तुत छ नेपालको पछिल्लो राजनीतिक अवस्था, विदेशी चासो र राप्रपा महाधिवेशनबारे राप्रपा अध्यक्ष पशुपति शम्शेर राणासँग नेपाल फ्ल्यासले गरेको कुराकानीको सम्पादित अंश :

देश कता जाँदै छ ?

देश एक किसिमले चुनावतिर मोडिएको देखिँदै छ । अहिले प्रस्ट रूपको नयाँ सरकार आउन सक्ने अवस्था देखिएको छैन । जता हेर्दा पनि अलमल-अलमलको अवस्था देखा परेको छ । र, यो अलमलले संविधानले खोजेको बाटोबाटै चुनावमा जाने अवस्था बन्न सक्छ । 

यो बेला त हामी चुनावको पक्षमा नहुने प्रश्न नै उठ्दैन । राप्रपा चुनावका लागि तयार छ ।

राप्रपा चुनावका लागि तयार छ त ?

किन नहुनु ? राप्रपा चुनावका लागि तयार नै छ नि ! प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दा हामीले असंवैधानिक कदम भनेका थियौँ । सर्वोच्च अदालतले त्यो सही साबित भयो । तर संविधानको परिधिभित्रबाटै हुने चुनावको विपक्षमा हामी थिएनौँ । पछिल्लो निर्वाचनमा विजेताको रूपमा उदाएको साम्यवादी शक्तिमा ठूलो विभाजन आइसकेको छ । संगठनमात्र होइन, उनीहरूले उठाएका मुद्दा पनि फितला भइसकेका छन् । हामीले उठाएको संविधानभित्रको राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको मुद्दा स्थापित भएको छ । यो बेला त हामी चुनावको पक्षमा नहुने प्रश्न नै उठ्दैन । राप्रपा चुनावका लागि तयार छ ।

अहिले नेपालमा भइरहेका गतिविधिबाट २०६२/६३ देखि नेपालले लिएको मार्गचित्र गलत भयो भन्ने तपाईँहरूको बुझाइ हो ?

हो । यो त हामीले पटकपटक भन्दै आएको हो नि ! यो हाम्रो बाटो होइन । २०६२ पछिको बाटो हामीले मानेको होइन । हामीले त मुलुकलाई स्थिरता दिन मुलुकलाई धर्म निरपेक्षता होइन भनेका छौँ । अब मुलुकलाई धर्म निरपेक्षता सुहाउँदैन । हिन्दु राष्ट्र पुनर्स्थापना हुन जरुरी भइसकेको छ । अर्को, पछिल्ला प्रकरणहरूलाई हेर्दा राष्ट्रप्रमुखको भूमिका निष्पक्ष देखिएको छैन । जहिले पनि र अहिले पनि राष्ट्रपतिको भूमिका एउटा दल विशेषको जस्तो भयो । अझ दलको पनि एउटा गुट विशेषको देखियो । यो मेरो व्यक्तिगत भनाइ होइन आम जनमानसको बुझाइ पनि हो । राष्ट्रपतिबाट जे भइरहेको छ, त्यसले मुलुकको हित भएको छैन । नेपालले निष्पक्ष राष्ट्रप्रमुख पाउन सकेन । त्यसैले त्यो भन्दा कुनै दल विशेषभन्दा माथि रहने राष्ट्रप्रमुखमा राजसंस्था नै उचित हुने हाम्रो मान्यता हो । अब हाम्रो मान्यतालाई कसैले प्रमाणित गर्नु पर्दैन । स्वतः प्रमाणित भइसकेको छ । यी दुई मुद्दाका आधारमा हाम्रो एजेन्डा ठीक छन् र अहिले मुलुकले लिएको मार्गचित्र नै गलत छ ।

पछिल्लो एक डेढ वर्षयता मात्र पहिलेभन्दा धेरै हस्तक्षेप बढेको देखिएको छ । राप्रपाले बारम्बार भन्दै आएको यो मुलुक राष्ट्रवादी बाटोबाट हिँड्नु पर्छ । राष्ट्रियता बलियो हुनुपर्छ ।

यो अवस्था कसरी आयो ? 

अरूलाई दोष दिएर हुँदैन । यो अवस्था क्षमता र कौशल नभएर उत्पन्न भएको हो । 

कतिपयले त बाह्य कारण पनि छ । नेपाल विश्व समुदायको खेल मैदान बनिसक्यो भन्छन् नि ?

हो । विदेशी शक्तिहरूको नेपालमा चलखेल धेरै बढेको छ । पछिल्लो एक डेढ वर्षयता मात्र पहिलेभन्दा धेरै हस्तक्षेप बढेको देखिएको छ । राप्रपाले बारम्बार भन्दै आएको यो मुलुक राष्ट्रवादी बाटोबाट हिँड्नु पर्छ । राष्ट्रियता बलियो हुनुपर्छ । राष्ट्रिय हित प्रधान र प्रमुख हुनु पर्छ । तर राष्ट्रवादी दिशा चाहिँ अहिलेका घटनाक्रमले दुर्बल भइरहेको छ । यो अवस्थामा राष्ट्रियतालाई बलियो बनाउन जुन मुद्दा राप्रपाले उठाएको छ, त्यो त सही भएको छ नि !

यसका लागि त देशभित्रकै राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा सँगसँगै एकता, सहकार्य र भाइचारा हुनुपर्ने हो नि ?

पछिल्लो चुनावमा नेपाली जनताले साम्यवादी शक्तिलाई ठूलो मौका दिएका थिए । झन्डै दुई तिहाइ बहुमत दिएकै हो । तर यो साढे तीन वर्षको घटना विश्लेषण गरेर हेर्ने हो भने त्यो मौका पुरै खेर गएको छ । अब एउटा शक्तिले समय खेर फालेको आधारमा सम्पूर्ण राष्ट्रवादी शक्ति कमजोर हुँदै गए । जनताले कम्युनिस्टहरूलाई जुन जिम्मेवारी दिए, उनीहरूबाट त्यसअनुसारको दायित्व र भूमिका निर्वाह भएन ।

ओली सरकारको परराष्ट्र मामिला सञ्चालन कस्तो रह्यो ? 

कति मात्रामा सही भयो वा भएन त्यो एउटा विश्लेषणको पाटो होला । तर सतहमा हेर्दा कुनै कुनै राजदूतको सक्रियता अत्यन्त धेरै देखियो । यहाँ विभिन्न मुद्दाहरूमा खेल भए । त्यसैले जुन किसिमले राष्ट्रियता मजबुत बनाउनु पर्ने थियो, त्यो काम मुख्य दलहरूबाट हुन सकेन । मुलुकप्रति जुन किसिमको निष्ठा र आस्था हुनुपर्ने थियो, त्यो देखिएन । नेपालले परराष्ट्र मामिला सञ्चालनमा रणनीतिक कौशल देखाउन सकेको छैन ।

सुशासन र जनताले राहत दिने काममा यो सरकार चुक्यो । तर राजनीतिक खेलमा अरू खेलाडीलाई परास्त गरेर आफ्नो हात माथि पार्न उहाँ माहिर देखिनु भयो ।

यतिबेला नेपालले कस्तो बाटो लिनु पर्छ ?

जे जस्ता घटनाक्रम भए पनि राजनीतिक खेल चलेकै छ । अरू जे भए पनि हालको प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक खेलमा माहिर हुनुहुन्छ । पछिल्ला घटनाक्रम हेर्दा आफ्ना अपोनेन्ट (प्रतिद्वन्द्वी) जति सबैलाई उहाँले परास्त गर्नु भएको छ । 

अर्को पक्ष भने उहाँको कार्यकालमा सरकार राम्ररी चल्न सकेन । उहाँले सरकार सञ्चालनमा उपलब्धि दिन सक्नु भएन ।  बलियो सरकार भएर पनि नेपालको विकास र प्रगतिमा उहाँ असफल हुनु भयो । सुशासन र जनताले राहत दिने काममा यो सरकार चुक्यो । तर राजनीतिक खेलमा अरू खेलाडीलाई परास्त गरेर आफ्नो हात माथि पार्न उहाँ माहिर देखिनु भयो ।

स्वदेशी होस् वा विदेशी एक्टरहरूलाई परास्त पारेकै हो त ?

बाह्य पक्षमा अहिले नजाऔँ । त्यसबाट केही फाइदा छैन । विशुद्ध राजनीतिक खेलमा मात्र उहाँ सफल भएको हो । 

राप्रपा के गर्दै छ यतिबेला ?

राप्रपा महाधिवेशनको तयारीमा जुटेको छ । हामी यही वैशाखमा महाधिवेशन गर्ने तयारीमा जुटेका छौँ । महाधिवेशनसँगै राप्रपालाई सिद्धान्तको आधारमा मात्र होइन, संगठन र संरचनाका आधारमा पनि मुलुकको बलियो र निर्विकल्प शक्ति बनाउने अभियानमा हामी होमिएका छौँ ।

नेतृत्वका लागि तपाईँ पनि तयारीमा हुनुहुन्छ ?

अहिले तल्लो तहको अधिवेशनहरू धमाधम भइरहेका छन् । तल्लो तहलाई सबल, सक्षम र प्रभावकारी बनाउने अभियान चलिरहेको छ । महाधिवेशनको महिना तोके पनि मिति अझै तोकिएको छैन । पार्टीभित्र छलफल र बहस पनि भइरहेको छ । तर मिति नै तोकी नसकेको अवस्थामा आगामी नेतृत्वबारे म धेरै टिप्पणी गर्न चाहन्न ।

यो पनि