असोज १९, २०८१, शनिबार
               

'राजा आउने होइन, देशका लागि जनताले ल्याउने हो'

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपा यतिबेला सोही मुद्दाका कारण सडकमा ओर्लिएको छ । अपवादबाहेक राप्रपाका शीर्ष नेताहरू भने अझै सडकमा आएका छैनन् । केही जिल्लामा राप्रपाकै ब्यानरबाट कार्यक्रम भएको छ । राप्रपाबाहेकका केही संस्था र संगठनहरूले पनि राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै सडक प्रदर्शन गर्दै आएका छन् । के मुलुकमा राजनीतिक परिवर्तन हुन लागेको हो ? कि आफ्नो राजनीतिक एजेन्डा जोगाउनमात्र खोजिएको हो ? यिनै विषयमा केन्द्रित रहेर नेपाल फ्ल्यासले राप्रपा सचिवालय सदस्य श्याम तिमल्सिनासँग गरेको वार्ताको सम्पादित अंश :

राप्रपामा एकता र मेलमिलापपछि त कार्यकर्तामा जति उत्साह जाग्नु पर्ने हो नि । त्यस्तो देखिएन नि ?

त्यस्तो होइन । देशभरका कार्यकर्तामा उत्साह छाएको छ । पार्टी एकतापछि केही समय कोरोना महामारीका कारण पार्टीको जीवनमा शिथिलता आयो । अब निर्वाचन आयोगमा दल दर्ता भइसकेको छ । केही समय नेताहरूबीच चुनाव चिन्हको बारेमा पनि आआफ्ना अडानहरू स्वाभाविक रूपमा भए । त्यसले पनि केही समय अन्योल भएको थियो । तर त्यो मुद्दा अध्यक्षज्यूहरूले सहमतिमै त्यसको टुंगो लगाउनु भएको छ । अहिले देशभर राप्रपा कार्यकर्तामा उत्साह छाएको छ । कार्यकर्तामात्र होइन बुद्धिजीवी र स्वतन्त्र नागरिकहरूले पनि हाम्रो एकतालाई सकारात्मक ढंगले हेरेका छन् । अहिले सबैजसो जिल्लामा उत्साह छ । कोरोना महामारीको बीच पनि सामाजिक दूरी कायम गर्दै केही गतिविधि पनि भएका छन् । दर्जनौँ जिल्लामा राप्रपा प्रवेशको लहर नै चलेको छ ।

संघीयताले देश खोक्रो भइसक्यो भन्नेमा अब दुईमत छैन । अहिले सत्तासीन दलका नेताहरूले पनि यो महसुस गरिसकेका छन् ।

तपाईँहरू राप्रपालाई वैकल्पिक शक्ति भन्नु हुन्छ । तर आधार त देखिँदैन नि ?

राप्रपा नै वैकल्पिक शक्ति हो । यसले लिएको सिद्धान्त नै यसको जग हो । राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र सुदृढ स्थानीय शासनलाई हामीले मूल सैद्धान्तिक आधार मानेका छौँ । यो आधारप्रति नेपाली जनमत ढल्कदै गएको छ ।

त्यस्तो त देखिँदैन नि ?

प्रस्ट देखिएको छ । अहिले राजसंस्था कि गणतन्त्र ठीक भनेर विना पूर्वाग्रह हेर्नुस् । सबैले राजा भन्ने गरेका छन् । सबै धर्महरूप्रति सम्मान र सहिष्णुता हिन्दु राष्ट्र हुँदै थियो । हिन्दु राष्ट्रलाई देशको पहिचान बनाउने हो । तर यहाँ रहेका सबै धर्मप्रति राज्यले सहयोग र सद्भाव नै राख्ने हो । हामीले भनेको हिन्दु राष्ट्रको मुद्दालाई एकांकी रूपमा हेर्नु हुँदैन । सर्वधर्मसापेक्ष हिन्दुराष्ट्र हो । संघीयताले देश खोक्रो भइसक्यो भन्नेमा अब दुईमत छैन । अहिले सत्तासीन दलका नेताहरूले पनि यो महसुस गरिसकेका छन् । सामाजिक सञ्जालहरू हेर्दा पनि यो तस्बिर प्रस्ट देखिने गरेको छ नि ! सडकमा दिनहुँजसो राजा र हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनहरू भइरहेका छन् ।

हिन्दु राष्ट्र नै किन ? अहिले के बिग्रिएको छ र ?

नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी छन् । ओमकार परिवारका सदस्य ९४ प्रतिशतभन्दा बढी छन् । पहिले नेपालीबीच धार्मिक रूपमा भाइचारा थियो । सहिष्णुता पनि थियो । हिन्दु राष्ट्र नेपालको पहिचान थियो । २०६२/६३ को परिवर्तनसँगै पहिचान मेटाउने काम भयो । अहिले मुलुकमा धार्मिक तथा जातीय सदभाव खलबलिन थालेको छ । धर्म निरपेक्ष रहिरहे धार्मिक युद्धको खतराको संकेत देखिन थालेको छ । धार्मिक युद्ध भए कसैले जित्दैन । सबैले हार्ने नै हो । समग्रमा देश हार्ने हो । बहुसङ्ख्यक हिन्दु भएकोले हिन्दु राष्ट्र बनाउँदा केही बिग्रँदैन । विश्वमा करिब ६ भागको एक भाग मानिस हिन्दु छन् । विश्वभर एक अर्ब १० करोडको हाराहारीमा हिन्दु छन् । त्यसैले एक मात्र हिन्दु राष्ट्र नेपाल हुनु सबैका लागि गौरवको विषय हुन्छ ।

हिन्दु राष्ट्र बनाएपछि अरू धर्मको अवस्था के हुन्छ ?

सबै धर्मले उत्तिकै अवसर पाउँछन् । सबै धर्मका प्रमुख चाडपर्वहरूलाई महत्त्व दिनुपर्छ । हामीले बुद्ध जयन्ती पनि मनाउँछौँ । इदमा पनि आपसी भाइचारा व्यक्त गर्ने गरेका छौँ । क्रिसमसमा पनि शुभकामना आदानप्रदान गर्दै आएका छौँ । हिन्दु राष्ट्र हुँदैमा अरू धर्म तथा सम्प्रदायप्रति हेयको दृष्टिकोण हुँदैन ।

२०६२/६३ को जनआन्दोलनको जगमा भएको परिवर्तन तपाईँहरूले भन्दैमा त्यति सजिलै तलमाथि होला र ?

हामीले लिएको बाटो असम्भव र असहज छैन । अहिले नेपालले हिँडिरहेको बाटोको जग तत्कालीन सात दल र माओवादीबीच २०६२ सालमा भएको १२ बुँदे समझदारीको हो । यो समझदारी जसले गराए उनीहरूले नै त्यो गलत भएको बताउन थालिसकेका छन् । यो समझदारीका लागि महत्त्वपूर्ण भूमिका खेलेको भनेर भारतीय कूटनीतिज्ञहरूले आफ्ना किताबमै लेखिसकेका छन् । तर यो यात्राले हामीलाई कहाँ पुर्‍यायो ?  नेपाल-भारत सम्बन्ध यसबीचमा मित्रवत् हुन सकिरहेको छैन । विदेशी राजदूतहरूको सक्रियता र चलखेलका विवादास्पद समाचारहरू दिनहुँ आइरहेका छन् । उत्तर र दक्षिण छिमेकीबीच सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित हुन सकिरहेको छैन । यो सबैको आधार भनेको १२ बुँदे सहमतिको यात्रा अब असफल भएको हो । अब मुलुकमा राजनीतिक कोर्स करेक्सन हुन जरुरी भइसकेको छ ।

त्यसो भए अब के हुन्छ ?

नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति छिमेकी मुलुक आश्वस्त हुन सकेका छैनन् । दुवै सशंकित छन् । परराष्ट्र मामिला असन्तुलित छ । कुर्सी बचाउन कहिले उत्तर त कहिले दक्षिणको कार्ड खेल्ने काम भइरहेको छ । मुलुकभित्रै पनि असन्तोष र विद्रोहका स्वरहरू देखिँदै छन् । जनता अप्ठेरोमा पर्दा सरकारले राहत दिन सकेको छैन । कोरोना महामारीले पेसा व्यवसाय धराशायी बन्दै जाँदा पनि सरकारले उनीहरूलाई भर दिन सकेन । अर्बौँ रुपैयाँका भ्रष्टाचारका काण्डहरू सार्वजनिक भइरहेका छन् । यी सबै अवस्थाले अब मुलुक हिँडिरहेको मार्ग फेरबदल हुने सङ्केतहरू देखापरेका छन् ।

तपाईँले भने जस्तो परिवर्तनका लागि सडकमा उल्लेख्य मानिस त देखिँदैनन् नि ? तपाईँहरूले आफ्नो राजनीतिक एजेन्डामात्र जोगाउन खोजेको हो ?

त्यस्तो होइन । सडकमा उल्लेख्य मात्रामा मानिस उत्रिएका छन् । हामीले पाँच दल र सात दलको आन्दोलन हेरेका हौँ । सुरुवातमा उनीहरूले पनि औँलामा गन्न सकिने गरी मानिस ल्याएका थिए । २०४६ सालको परिवर्तन केही सहरमा केही मानिस प्रदर्शनमा उत्रिएर भएको थियो । लाखौँ मानिस होमिएका थिएनन् । संख्याको तुलना गर्ने हो अहिले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा निकै ठुलो संख्यामा मानिस उपस्थित भएका छन् । यो सबै समयको खेल हो । हाम्रो एजेन्डाको पक्षमा मानिसहरू आउन थालेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा समेत हिन्दुत्वको मुद्दा मुखरित भइरहेको छ । आम जनताले विगतमा गल्ती भएको महसुस गरिसकेका छन् ।

अर्को, हामीले राजनीतिक एजेन्डामात्र जोगाउन खोजेको कदापि होइन । यो एजेन्डा मर्दै मर्दैन । देशभक्तिको एजेन्डा कहिल्यै मर्छ र ! मुलुकको खाँचो जे हो हामीले त्यही बोकेको हो ।

हामीले भनेको चाहिँ जनता आ‌ऊ, राजा ल्याऊ हो । कुनै कुनै व्यक्ति वा दल विशेषका लागि होइन । राष्ट्रियताका लागि हो । देश विदेशीको खेल मैदान नबनोस् भनेर हो । जनताको हितका लागि हो । राजसंस्थाको माग व्यक्ति र दलभन्दा माथिको हो ।

परिवर्तनको लागि राजनीतिक नेतृत्व पनि चाहिन्छ । खोइ त विश्वासिलो नेतृत्व ?

राप्रपामा भरपर्दा र अनुभवी नेताहरू हुनुहुन्छ । अरूसँगको तुलना नै गर्दा पनि स्वच्छ छविको हुनुहुन्छ । अध्यक्ष पशुपतिसमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा हाम्रा र देशकै लागि मर्यादित व्यक्तित्व हुनुहुन्छ । उहाँहरूबाटै हुने हो राजनीतिक नेतृत्व । सँगसँगै राजनीतिक परिवर्तनले पनि नयाँ पुस्ताको जन्म दिन्छ । हामीसँग नयाँ पुस्तामा पनि एकसेएक नेता छन् । नेतृत्व लिन हामी सक्षम छौँ ।

नेकपाको सरकारको कामकारवाहीलाई चाँहि कसरी लिनु भएको छ ?

यो इतिहासकै बलियोमध्येको सरकार हो । तर कुन बेला सरकार ढल्छ भन्ने सन्त्रास पनि छ । स्थिर सरकार भनिए पनि राजनीतिक रूपमा अस्थिर छ । सरसर्ती हेर्दा दूरगामी महत्वको निर्णय गर्न यो सरकार सक्षम छ । तर स्थिर सरकार भएजस्तो आभास फिटिक्कै पाइएको छैन । कर्मचारी प्रशासनको मनोबल गिरेको छ । सरकारको सर्भिस डेलिभरी अपेक्षित भएन । सुशासनको अनुभूति भएको छैन । राष्ट्रप्रमुख र सरकार प्रमुखका कामकारवाही पटकपटक विवादमा पर्नु मुलुकको लागि राम्रो होइन । तर त्यही भइरहेको छ । त्यसैले हामीले राजसंस्थाको मुद्दा उठाएका हौँ, जुन अपरिहार्य भइसकेको छ ।

राजा आ‌ऊ, देश बचाऊ भनेर नारा लगाउँदैमा राजसंस्था फर्कने हो त ?

सडकमा के कस्ता नारा लागे सबै मलाई थाहा भएन । सडकमा सबैखालका नारा लाग्न सक्छन् पनि । तर खासमा अहिले हामीले भनेको चाहिँ जनता आ‌ऊ, राजा ल्याऊ हो । कुनै कुनै व्यक्ति वा दल विशेषका लागि होइन । राष्ट्रियताका लागि हो । देश विदेशीको खेल मैदान नबनोस् भनेर हो । जनताको हितका लागि हो । राजसंस्थाको माग व्यक्ति र दलभन्दा माथिको हो । समग्र देशको लागि हो ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई कसरी लिनु भएको छ ?

मुलुकमा संसद छ तर लगातार अध्यादेशहरू जारी भइरहेका छन् । संसद पंगु भएको छ । यो अध्यादेश प्रधानमन्त्रीले देशका लागि होइन, आफ्नै दलका विरोधीलाई तह लगाउनका लागि ल्याउनु भएको हो । बडो अचम्म छ, यहाँ देशको चिन्ता जिम्मेवारीमा भएकाहरूलाई भएन । अध्यादेश पनि एक घण्टामै जारी गरियो । हेर्नुस् त राष्ट्रप्रमुखको भूमिका !

राष्ट्रप्रमुखलाई किन विवादमा तान्नु भएको ?

यो मैले विवादमा तानेको होइन । सबैले बुझेको र जानेकै विषय हो । राष्ट्रप्रमुख विगतमा एमालेको नेता हो । तर जुन दिन उहाँ राष्ट्रपति हुनु भयो । त्यसपछि उहाँ राष्ट्रको अभिभावक बन्न सक्नु पर्ने थियो । तर अपेक्षित व्यवहार भएन । उहाँ राष्ट्रप्रमुख कि नेकपाको नेता भन्ने छुट्याउन नसक्ने अवस्था छ । नेकपाभित्रै पनि एउटा गुटको नेता बनेको आरोप लागिरहेकै छ ।

सरकारको कामकारवाही प्रभावकारी नहुँदा पनि राप्रपाले त्यसविरुद्ध आवाज उठाएको छैन नि ?

हामीले हरेक मुद्दामा सरकारलाई झकझकाएका छौँ । यसबीचमा पार्टी एकता भयो । एकतापछि मुलुक र जनजिविकाको सवाल लिएर जनताकोमा जाने योजना थियो । तर कोरोना महामारीले त्यो योजना स्थगित हुन पुगेको छ । एकताको कतिपय काम अझै पूरा भएको छैन । ती अभिभारा पूरा गरेर छिट्टै जनतासामु जाने छौँ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै हामी जनतामा गइरहेकै छौँ ।
यसबीचमा धेरै जिल्लामा प्रदर्शनहरू भए । पुस ३ गते ललितपुरमा हामीले प्रदर्शन गर्दै छौँ । १२ बजे कुपन्डोलस्थित बागमती करिडोरमा भेला भएर लगनखेलसम्म मोटरसाइलक र्‍याली हुँदै छ । राप्रपा ललितपुरको आयोजनामा हुने प्रदर्शनमा सहभागी हुन म सबै राष्ट्रवादी र देशभक्त नागरिकलाई अपिल पनि गर्दछु ।


कस्तो लाग्यो ?

यो पनि