बैशाख १६, २०८१, आइतबार
               

तालिवानबाट को बन्दैछ अफगानिस्तानको राष्ट्रपति ?

एजेन्सी
साउन ३१, २०७८

ADVERTISEMENT

अफगानिस्तानको विद्रोही समूह तालिवानले देशको केन्द्रीय राजधानी काबुल कब्जा गरेसँगै राष्ट्रपति असरफ घानीले देश छाेडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

समाचार अनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला घानीले देश छोडेका हुन् । तालिवान काबुल पुगेसँगै राष्ट्रपति घानी देश छाडेर ताजिकस्तान पुगेको बताइएको छ । 

यसैबीच, तालिवाननको तर्फबाट अब अफगानिस्तानमा अली अहमद जलाली अन्तरिम राष्ट्रपति बन्ने बताइएको छ ।

अहमद जलालीसँगै तालिवाननका सह-संस्थापक अब्दुल घानी बरादर अर्थात् मुल्ला बरादर पनि अन्तरिम राष्ट्रपति बन्न सक्ने सम्भावना छ । 

अहिले तालिबानको कतारस्थित दोहास्थित कार्यालयमा राजनीतिक प्रमुख रुपमा कार्यरत बरादरलाई अन्तरिम सरकारका प्रमुखको जिम्मेवारी दिइन लागेको तालिबाननिकट स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

तालिबानको राजनीतिक नेतृत्व गर्दै आएका बरादरले कतारको दोहामा अमेरिकासँग वार्ता गर्ने समूहमा पनि थिए । उनी मुल्लाह ओमरका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक हुन । उनी पाकिस्तानको कराचीमा सन् २०१० मा पक्राउ परेका थिए । करिब ८ वर्षपछि उनलाई रिहा गरिएको थियो ।

यता, तालिबानलाई सहयोग गर्दै आएको रुसले अफगानिस्तानको वैधानिक अधिकारको रुपमा ‘मान्यता’ नदिएको स्पष्ट पारेको छ । राज्य समाचार एजेन्सी आरआईएले रूसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै उक्त भनाइ सार्वजनिक गरेको हो ।

राष्ट्रपति घानीसँगै उनका नजिकका केही मानिसहरुले पनि अफगानिस्तान छोडेका छन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन ।

घानी सरकारका मन्त्रीहरुले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरुले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् ।

तालिवान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्विटर मार्फत राजधानी काबुलस्थित प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् । आइतबार दिउँसैदेखि तालिवानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए ।

तालिबान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । आफ्नो सरकारले तालिवान विद्रोहीहरुलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका थिए ।

तर आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । सरकारी अधिकारीहरुले स्थिति नियन्त्रणमा नै रहेको दाबी गरेका थिए ।

राष्ट्रपतिको कार्यालयले ट्वीटरमा लेखेको थियो, “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन । सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरूले विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ ।”

तालिवान समूहले भने काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो । 

यो पनि