काठमाडौं । सुदूरपश्चिममा प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा १२ जना संक्रमितले ज्यान गुमाएका हुन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार कोरोनाका कारण कञ्चनपुरका चार, कैलालीको टीकापुर अस्पतालमा बर्दियाका एक, बैतडी जिल्लाका एक, कैलाली अस्पतालमा तीन, डडेल्धुरा जिल्लाका एक र अछामका दुईजना गरी १२ जनाको मृत्यु भएको बताइएको छ ।
साथै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षण गरिएका ८२७ मध्ये पोजेटिभ २१४ र पिसिआर परीक्षण गरिएका ६५१ मध्ये २६० जनाको नतिजा पोजेटिभ आएको छ। अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एन्टिजेन विधिबाट ३९ हजार ६४१ जनाको परीक्षण गरिएकोमा दुई हजार ९०३ पोजेटिभ आएको छ ।
पिसिआर परीक्षण गरिएका एक लाख ४४ हजार ३०४ मध्ये १६ हजार ४८९ जनाको नतिजा पोजेटिभ आएको थियो । कोरोनाबाट सुदूरपश्चिममा अहिलेसम्म ११२ जनाको मृत्यु भइसकेको छ ।