जेठ ०५, २०८१, शनिबार
               

भेरी अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

राँझा । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबार (आज) बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीया महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ ।

भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ । 

साथै, दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । 

उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उहाँमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि