काठमाडौं । भारतको गुजरातबाट नेपाल फर्किएका एक युवाको मृत्यु भएको छ । एघार दिनअघि घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको हो ।
गत शनिबार कोरोनाका कारण उनका दाजुको मृत्यु भएको थियो । जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीका अनुसार उनको कोरोना जाँच गरिएको थिएन । ‘तर, भारतबाट घर आएर होमआइसोलेसनमा बस्दै गर्दा उनको मृत्यु भएको हो,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोरोनाका कारण मृत्यु भएका भनिएका युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको बताए । उनले भने, ‘मर्ने व्यक्ति त मरिसके, उनको सम्पर्कमा आएका र घर परिवारको स्वाब टेष्ट गर्न भनेको छु, स्वाब टेष्टपछि मृत्युको सबै कारण खुल्नेछ ।’
सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार राति आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । जिल्लामा क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक सीधै गाउँ जान थालेकाले समस्या हुने गरेको बताइएको छ । जिल्लामा कोरोनासम्बन्धी कुनै जाँच नभएका कारण र भारतबाट आएका नागरिक सीधै घर आउने गरेका कारण गाउँमा त्रास फैलिएको केआइसिंह गाउँपालिकाका तीर्थराज जोशीले जानकारी दिए ।