वीरगञ्ज । वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज नारायणी बयोधा अस्पतालमा सर्लाही मलंगवा नगरपालिका- २ का ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान कोरोनाका कारण मृत्यु भएको हो ।
नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसार निमोनियाबाट ग्रसित पुरुष उपचारका लागि मङगलबार नारायणी अस्पतालमा भर्ना भएका थिए। कोरोनाको आशंका भएपछि मङगलवार नै एन्टिजेन प्रविधिबाट कोरोनाको परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुने संख्या सात पुगेको छ । जुन संख्या कोरोनाको दोस्रो लहर सुरु भएयताको हो ।
वीरगन्जको नारायणी अस्पतालमा ५ जना र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ७ जना पर्साका ५ जना तथा बारा र सर्लाहीका १/१ जना हुन्।