पोखरा । कोरोना संक्रमणका कारण पोखरामा थप दुई जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिएको जानकारी अनुसार मणिपाल शिक्षण अस्पताल र कास्की सेवा अस्पतालमा एक/एक जना गरी दुई संक्रमित महिलाको मृत्यु भएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दुवै महिलाको गएराति मृत्यु भएको जानकारी दिए ।
निर्देशक शर्माका अनुसार मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचाररत पोखरा महानगरपालिका-१३ की ६६ वर्षीया महिलाको बुधबार राति ९:३० बजे मृत्यु भएको हो ।
त्यस्तै मंसिर ९ गते कोरोना पुष्टि भएपछि कास्की सेवा अस्पतालमा उपचाररत लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया कोरोना संक्रमित महिलाको गएराति नै निधन भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ ।