पाल्पा । पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारीका अनुसार लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो । दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । उनमा कोरोनाका लक्षण समेत देखिएको अस्पतालले जनाएको छ ।
रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको पनि सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।
पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ५८ जना निको भएका छन् । २ सय ३२ जना सक्रिय संक्रमित छन् ।