काठमाडौं । रुपन्देही र अर्घाखाँचीमा एक/एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ का ७३ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिला छन् ।
अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ का ७३ वर्षीय पुरुषको आइसियू अभावका कारण मृत्यु भएको हो । उनी बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । आइसियू अभावका कारण दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । उनमा यही २७ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी, कोरोनाका कारण मृत्यु भएकी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको महिला धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा असोज २१ गते अस्पताल भर्ना भएकी थिइन् । उनको बिहीबार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी ज्वरो, दमलगायत रोगबाट पीडित थिइन् ।