काठमाडौं ।आइतबार कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ ।
आइतबार कोरोनाकै कारण नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुष र झापा कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
बाँकेमा मृत्यु भएका ती पुरुष नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासनिक फाँटमा कार्यरत कर्मचारी हुन् । उनमा भदौ ३१ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई प्लाज्मा थेरापी विधिका साथै रेमडिसिभर समेत प्रयोग गरी उपचार भइरहेको थियो । उनी कोरोनाका अतिरिक्त निमोनिया र मधुमेहजस्ता रोगबाट पीडित थिए ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
त्यसैगरी, झापा कनकाई नगरपालिका– ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति नै विराटनगर ल्याइएपछि उनको मृत्यु भएको थियो । उनमा शरीर कमजोर हुने, ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएका थिए । उनको मृत्युसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।