जेठ ०६, २०८१, आइतबार
               

संक्रमण जितेका डा. ज्ञानेन्द्र कार्की भन्छन्- 'कोरोना केही होइन भनेर वेवास्ता नगरौँ'

रासस
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोनालाई केही होइन भन्ने रुपमा लिन नहुने बताएका छन् ।

आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरेका छन् । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ ।

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।”

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिडविरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भए पनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले बताए । उनले भने, “सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. कार्कीले जानकारी दिए । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम नगर्न आग्रह गर्दै उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

नेपालमा स्रोत साधन नभए पनि मृत्युदर अरु देशभन्दा कम रहेको उनले बताए । उनले भने, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।” कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।

देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको बताउँदै उनले सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार रहेको जनाए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि