काठमाडौं । कोरोना बिमा दाबी भुक्तानीमा देखिएको समस्या समाधानका लागि भन्दै बिमा समितिले छानबिन समिति गठन गरेको छ ।
बिमा समितिले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघि बिमा मापदण्डमा निजी ल्याबमा गरिएको परीक्षणले दाबी नपुग्ने व्यवस्था गरिएको थियो । यसमा अर्थमन्त्रलयले पनि स्वीकृति दिएको थियो ।
स्वास्थ्य मन्त्रालयको अनुमति पाएर परीक्षण गराउने निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने भएपछि विवाद भएको थियो । निजी क्षेत्रले सो विवाद तत्कालै समाधान गर्न माग गरेको थियो ।
हालसम्म दावी परेकाहरुमध्ये स्वास्थ्य मन्त्रालयका माताहतका निबाट गरिएको परीक्षण भए तत्कालै भुक्तानी दिने र त्यसबोहका विषयमा समितिले छानबिन गर्नेछ । छानबिनपछि समितिले दिएकेा निष्कर्ष अनुसार भुक्तानी हुने निर्णय गरिएको छ ।
निजी ल्याबको मान्यता दिने वा नदिने भन्ने विषयमा मापदण्ड नै संशोधन गर्नुपर्ने भएकाले सोही समितिको सिफारिसका आधारमा समितिले मापदण्ड समेत संशोधन गर्ने समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले जानकारी दिए ।
पहिले कोरोना परीक्षण सरकारी ल्याबमा मात्रै हुने र उपचार पनि सरकारी अस्पतालमा मात्रै हुने व्यवस्था भएकाले बेला सोहीअनुसारको मापदण्ड तयार गरिएको अध्यक्ष चापागाईंले बताए ।
सरकारले निजी ल्याबलाई अनुमति दिनुभन्दा अगावै मापदण्ड बनेको र पछि सरकारले निजी ल्याबलाई अनुमति दिएको कारण यो समस्या आएको उनले बताए । अब छानबिन समितिले दिएको सुझावपछि समस्या समाधान हुने बताए ।