असोज ०६, २०८१, आइतबार
               

समुदायमा कोरोना संक्रमण: तेस्रो चरणमा प्रवेशको खतरा, यसरी हुँदैछ अध्ययन

रासस
भदौ १७, २०७७

ADVERTISEMENT

काठामाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो । 

नेपाल अहिले कोरोना संक्रमणको दोस्रो चरणमा छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हो । 

समुदायमा संक्रमण

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा संक्रमण देखिन थालेपछि समुदायमा नै संक्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिए । यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौं उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेको छ । हिजो (मंगलबार) मात्र उपत्यकामा ४८१ जनामा संक्रमण देखिएको थियो । 

रगत संकलन र परीक्षण

“संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उनले भने, “अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा. पाण्डेले बताए । 

सातवटै प्रदेशमा संक्रमण बढी फैलिएका ठाउँमा गई ६ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ । एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ । 

ट्राभल हिस्ट्री नभएकामा संक्रमण

महाशाखाका निर्देशक डा. पाण्डेले अबको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताए । उनका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ । “पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र सङ्क्रमण देखिएको थियो”, उनले भने, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि संक्रमण देखिएको छ । काठमाडौंमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा संक्रमण देखिएको छ ।”  

जो कोहीलाई पनि संक्रमण

विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि संक्रमण देखिन थालेको उनको भनाइ छ । गत माघ ९ गते नेपालमा पहिलोपटक संक्रमण देखिएको थियो । अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५२९ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । 

पिसिआर परीक्षण गरिएकामध्ये संक्रमण दर ५.७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय संक्रमित १८ हजार ११२ जना छन् । यस्तै २३९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । नेपालमा प्रति १० लाख ७.८ प्रतिशत मृत्युदर, संक्रमितमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिएका छन् । 

कलस्टरमा संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले समुदायस्तरमा संक्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिए । उनले १२ जिल्लामा खासखास ठाउँमा (कलस्टर)मा संक्रमण देखिएको बताए । “यहाँ समुदायमा संक्रमण अझै फैलिएको छैन”, उनले भने, “१२ जिल्लामा क्लस्टरमा संक्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न सकेनौँ भने समुदायमा फैलिने डर छ ।” 

अहिलेसम्म २२ हजार १७८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज भएका छन् । अहिले संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना, होम आइसोलेशनमा सात हजार २८० जना र क्वारेन्टाइनमा सात हजार ३९० जना रहेका छन् । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समुदायमा संक्रमण अझै गई नसकेकाले बताए । उनले संक्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशको क्रममा रहेको बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि