बैशाख २२, २०८१, शनिबार
               

उच्च ज्वरोबाट ६ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानको लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचको लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ । 

दुई साताको अवधिमै उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचको लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकेत छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’

उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा गगन चौधरीका अनुसार उच्च ज्वरोसँगै मौसमी ज्वरोका बिरामीको चाप बढेको छ । निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।

यो पनि