महाेत्तरी । कोभिड–१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा गाउँपालिका–७ का ७० वर्षीय वृद्ध रहेको कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।
विगत आठ दिनदेखि नियमित ज्वरो र रुघाखोकीले ग्रसित युवकलाई शुक्रबार स्वासप्रस्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएको र शुक्रबार नै उनको स्वाब सङ्कलन गरिएकामा आज उपचारका क्रममा मृत्यु भएको र मृत्युपश्चात उनी कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ ।
त्यस्तै जिल्लाको बर्दिवासमा पाँच/छ दिनदेखि ज्वरो र रुघाखोकीकै समस्या भएर उपचाररत वृद्धलाई पनि स्वासप्रस्वासमा समस्या भएपछि आज नै प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएकामा उनको पनि कोरोनाबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका डा जामुनप्रसाद सिंहले बताए । आज दुई जनाको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।