मंसिर ०७, २०८१, शुक्रबार
               

३० वर्षीया महिलासहित थप पाँच संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । सुनसरीमा सिरहाका एक संक्रमित वृद्ध र पाल्पामा ३० वर्षीय कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।

वीरगञ्ज–१२ का ४३ वर्षीय पुरुष, वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुष र वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । धरानमा सिरहाका ८४ वर्षीय संक्रमित वृद्ध र पाल्पामा तानसेन–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

वीरगञ्ज–१२ का ४३ वर्षीय पुरुषको गएराति ११:५५ बजे वीरगञ्ज कोभिड अस्पताल मृत्यु भएको हो । नेशनल मेडिकल कलेजमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार नै  कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । उनी एचआइभी तथा हेपाटाइटिस बीबाट ग्रसित रहेको बताइएको छ ।

मनियारीका ३७ वर्षीय युवकलाई काठमाडौं ल्याउँदै गर्दा गएराति ११:४० बजे मुग्लिनमा मृत्यु भएको हो ।

केही दिनदेखि तराई अस्पतालमा उपचाररत उनलाई शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो ।

वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको अस्पतालले जानकारी दिएको छ ।

उता, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ८४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। 

सिरहा जिल्ला भदैया-६ का संक्रमितको गएराति ११:१५ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । भदौ ७ गते उनमा कोरोना पुष्टि भएको थियो ।

मेडिसिन वार्डमा उपचार गराइरहेका संक्रमितमा अत्याधिक ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मिर्गौला रोगसम्बन्धी पीडित उनले लामो समयदेखि डायलासिस गराइरहेका थिए । 

प्रदेश ५ मा पर्ने पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत महिलाको शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

ती महिलालाई ७ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उनी मुटु रोगीसमेत रहेको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि