कोरोना संक्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । बिहीबार कोरोना पोजेटिभ देखिएपछि गएराति अस्पताल भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या बढेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज अपरान्ह मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसअघि आजै बिहान कोरोना संक्रमण पुष्टि भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि यही भदौ ६ गते धरानस्थित स्वास्थ्य प्रतिष्ठानमा उपचार गराउन गएका पुरुषको भदौ ८ गते कोरोना संङ्क्रमण पुष्टि भएपछि त्यहीँ उपचार भइरहेको र उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।