पाँचथर । फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए। उनको सोमबार स्वाब सङ्कलन गरी पठाइएको आज रिपोर्ट आएको सुवेदीले बताए ।
कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टाइनमा राखिएका अन्य तीन जनामा भने कोरोना सङ्क्रमण नदेखिएको सुवेदीले बताएका छन् । पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकोमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
सङ्क्रमण पुष्टि भएकी ती युवतीलाई कोसी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए । पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस सङ्क्रमित भेटिएको हो ।