जेठ ०६, २०८१, आइतबार
               

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

रासस
जेठ २८, २०७७

ADVERTISEMENT

बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् ।

ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् ।

बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन् । 

त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए।

त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टाइनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि