कैलालीको टीकापुर–३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो । पहिलो सन्तान आठ महिनाको हुँदा गर्भ रहेपछि निर्मलालाई समस्या सुरु भयो ।
बच्चा पेटमा रहेदेखि निर्मलाको दूध आउन छाड्यो । “जसोतसो पहिलो बच्चा हुर्काउँदै दोस्रो जन्मियो । दुवै बच्चाको पालनपोषण र घरधन्दाले च्याप्यो”, निर्मला भन्छिन्, “दुवै सन्तानको राम्रो पालनपोषण भएन, बच्चा हेर्ने कि घरको काम गर्ने ? मेरो स्वास्थ्यमा पनि समस्या शुरु भयो ।” निर्मलाले अहिले ढाड दुख्नेजस्ता समस्या रहेको बताइन् ।
दुई सन्तान सँगसँगै हुर्कँदै गएकाले घरमा श्रीमतीलाई निकै समस्या भएको निर्मलाका श्रीमान् प्रकाश भूल बताउँछन् ।बच्चाकै लागि भए पनि निर्मलासँग एक अर्काे व्यक्ति अनिवार्य घरमा बस्नुपर्ने भएकाले आफूले बाहिर काम गर्नसमेत जान नपाएको उनले बताए ।
टीकापुरकी पद्मा बोहराका श्रीमान् हाल रोजगारीको सिलसिलामा भारतमा छन् । पहिलो सन्तान सात महिनाको हुँदा पद्माको फेरि गर्भ रह्यो । दुवै बच्चा सँगसँगै हुर्कँदै गएकाले पनि घर व्यवहार र बच्चाको पालनपोषणमा समस्या भइरहेको पद्माले बताइन् । “श्रीमान् भारतमा हुनुहुन्छ, मलाई दुई बच्चा हुर्काउन कठिन भएको छ”
निर्मला र पद्मा मात्र होइनन् कैलालीको जोशीपुर–१ की सीता धामी पनि यही पीडामा छिन् । श्रीमान् र सासू भारतमा भएकाले पनि सीतालाई सहयोग गर्ने कोही छैन । करिब एक वर्षको जन्मान्तर रहेका सन्तानको स्याहार गर्ने कि घरको काम गर्ने ? बर्सेनि सन्तान पाउँदा सीताको पाठेघरमा समस्या भएको छ । यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता कैयाैँ महिलाले भित्रभित्रै यस्ता समस्या भाेग्दै आएका छन् ।
गाउँगाउँमा स्वयंसेविकाले परिवार नियोजनका सेवा दिइरहेका छन् । उनीहरूले अस्थायी साधन प्रयोगका लागि महिलालाई स्वास्थ्य संस्थासम्म पठाउने कार्य पनि गर्छन् तर पनि दम्पतीकै लापरवाहीले बर्सेनि बच्चा जन्माउने अभिभावक धेरै छन् ।
आमा र बच्चाको उचित स्याहारका लागि जन्मान्तर आवश्यक हुन्छ, तर कैलालीमा बर्सेनि सन्तान जन्माएका आमा समस्यामा छन् । टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का अहिले पनि ग्रामीण क्षेत्रमा ३० प्रतिशतसम्म आमाले बर्सेनि सन्तान जन्माउने गरेको बताउँछिन्, “यसरी बर्सेनि बच्चा पाउँदा महिला शारीरिक, मानसिक र आर्थिकरूपमा कमजोर हुन्छन्, त्यसको असरले आमा बच्चा दुवै कुपोषित हुने गरेका छन् ।”
सन्तानबीचकोे जन्मान्तर तीनदेखि पाँच वर्षको हुनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर गाउँघरमा बर्सेनि सन्तान जन्माउने आमाहरू धेरै छन् । यसले महिलाको स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । बर्सेनि गर्भवती हुँदा महिलाको पाठेघरको राम्रोसँग विकास भएको हुँदैन । यसबाट जन्मने बच्चा सुस्त मनःस्थितिको हुनुका साथै बच्चा खेर जाने सम्भावना बढी रहने स्त्रीरोग विशेषज्ञ डा सञ्जयकुमार दास बताउँछन् ।