कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरसका बिरामीले भरिभराउ भएको छ । २० जना क्षमताको आइसोलेसनमा १५ जना कोरोना संक्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ ।
मङ्गलबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका ७ जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ । आठ जना कोरोना संक्रमित कञ्चनपुरका रहेका छन् ।
कारोना संक्रमित सबै भारतबाट फर्केका व्यक्ति हुन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा. सरोज आर्चायले बताए ।
उनका अनुसार अस्पतालमा कोरोना शंकास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ । डा. आर्चायले भने, ‘पिसीआर परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बिरामीलाई राख्न समस्या भएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० श्ययाको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा दासमेत समस्या भएको छ ।
महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् ।