काठमाडाैं । प्रदेश नं २ को जनकपुरमा सोमबारदेखि रियल टाइम पिसिआर मेसिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेसिनमध्ये एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को केही दिनमै राजबिराजमा सञ्चालनमा आउने जनाइएको छ ।
मेसिन सञ्चालनमा आएपछि स्वाबको नमुना परीक्षणमा तीव्रता आउने विश्वास गरिएको छ । जनकपुरमा सञ्चालनमा आएको सो मेसिनबाट एकपटकमा ९६ वटा स्वाबको नमुनाको परीक्षण हुनेछ । एक दिनमा तीनपटकसम्म परीक्षण गर्ने क्षमता सो मेसिनको छ ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले आज प्रयोगशालाको निरीक्षण गरेपछि सञ्चालनमा आएको हो ।
सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा प्रमोद यादवलगायतको सहभागिता थियो ।
जनकपुरमा रियल टाइम मेसिन सञ्चालनमा आउनासाथ प्राविधिक टोली राजविराजमा जडान गरिएको अर्को मेसिन सञ्चालन गर्न प्रस्थान गरेको छ ।
राजविराजमा पनि एक÷दुई दिनमा सञ्चालनमा आउने विश्वास गरिएको छ ।